मेलम्चीः मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनर्निर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौं ठाउँमा बाटो अवरूद्ध हुने समस्या अहिले पनि छ ।

मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि वैकल्पिक रूपमा रहेको झोलुङ्गे पुलको सहायक पर्खाल बाढीले बगाएका कारण एकैपटक धेरै मानिस आवतजावत गर्दा हल्लिने गर्दछ । मेलम्चीबाट दोभानटार र दोभानटारबाट रामपुरबेँसी जोड्ने यो पुल नै ओहोरदोहोरको माध्यम बनेको छ ।

बाढीले मेलम्ची बजारमा रहेको पक्की पुल बगाएपछि बजार आउन कि त झोलुङ्गे पुल आउनुपर्छ कि त बाहुनेपाटी हुँदै घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २, मेलम्ची नगरपालिका–७ र ८ का नागरिकका लागि गाडी प्रयोग गर्न भने हेलम्बु गाउँपालिकाको चनौटे पुगेर मेलम्ची आउनुपर्ने अवस्था रहेको छ ।

हेलम्बु गाउँपालिकाको चनौटेमा बाढीले मोटर गुड्ने पुल बगाएपछि नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माण गरी सञ्चालन भइरहेको छ ।

पुल नहुँदा बिरामी र सुत्केरी हुने महिला मारमा परेका छन् । मोटर बाटो प्रयोग गर्दा घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

आकस्मिक सेवा लिनुपर्ने प्रकारका बिरामीलाई भने हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाले आकस्मिक रूपमा अस्पताल लैजानुपर्ने बिरामी र सुत्केरीलाई हेलिकप्टरमार्फत् पनि सेवा दिँदै आएका छन् । 

मेलम्ची नगरपालिका–९ र १० लगायत आसपासका नागरिकका लागि दैनिकजसो मेलम्ची बजार ओहोरदोहोर गर्नु पर्दछ । उत्पादित तरकारी, फलफूल, दूध र मासुजन्य वस्तुको बजार भनेको मेलम्ची नै हो ।

सामान बोकेरै ल्याउनुपर्ने भएकाले पनि उत्पादित सामान बजारसम्म ल्याउन समस्या भएको मेलम्ची–१० की लक्ष्मी अधिकारीले बताइन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकाकी डिलकुमारी श्रेष्ठ आफन्त र छोराछोरीसँग भेटघाटका लागि काठमाडौं ओहोरदोहोर गरिरहन्थिन् । तर अहिले बाढीपछि भने उहाँ तीन महिनामा एकपटक मात्र आउने–जाने गर्छिन् । बाटो कतिबेला बन्द हुन्छ भन्ने डरले पनि उनलाई रोकिरहन्छ । पहिलेको तुलनामा गाडी पनि नियमित रूपमा सञ्चालन नहुँदा यात्रा गर्न सहज नभएको उनको भनाइ छ ।

मेलम्ची–१० का कुमार दाहालको पनि समस्या उस्तै छ । पहिलेको पुल भएको ठाउँबाट झोलुङ्गे पुलसम्म आउन एक किलोमिटर छ भने बाहुनेपाटी जान दुई किलोमिटर घुमेर बजार जानुपर्ने बाध्यता छ ।

घरका लागि चाहिने सामान ल्याउन पनि समस्या भइरहेको उनले बताए । तीनै तहका सरकारले जतिसक्दो छिटो पुल निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बाढीका कारण धेरैले ज्यान गुमाएका छन् भने कतिको गरिखाने ठाउँ नै बगर बनेको छ । बाढीपछि राहत र पुनःस्थापनाको काममा पनि सरकारले चासो नदिएका कारण मेलम्चीको पुनःस्थापनामा ढिलाइ भएको मेलम्चीका बासिन्दा गणेश दुलालले बताए । गत वर्षको बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पु¥याएको थियो ।

मानिसको आवातजावत कम भएका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष व्यापार व्यवसाय पनि कम भएको मेलम्चीका व्यापारी प्रकाश दाहालले बताए ।

बोकेर लान सक्ने सामान पनि कमै मात्रामा बिक्री भइरहेको र गाडी प्रयोग गरेर लाने सामान लान गाडीभाडा महँगो पर्ने भएकाले पनि वर्षायाममा बिक्री धेरै घटेको उनको भनाइ छ ।

यसअघि मेलम्चीमा ह्युमपाइप राखेर बनाइएको अस्थायी संरचनाको प्रयोग गरेर सामान लैजान सहज भएको थियो । अब वर्षा रोकिनेबित्तिकै खोलामा ह्युमपाइप राखेर यातायात सञ्चालन गर्न नगरपालिकालाई ध्यानाकर्षण गराइएको मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका महासचिव ताराबहादुर बानियाँले बताए । 

नगरपालिका क्षेत्रमा नागरिकको सुविधाका लागि वैकल्पिक बाटो बनाउने र बन्द भएका बाटो खुलाउने काममा नगरपालिकाले काम गरिरहेको नगरप्रमुख आइतमान तामाङले बताए ।

‘दीर्घकालीन रूपमा पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरी जतिसक्दो छिटो मेलम्चीलाई पुरानै अवस्थामा ल्याउने छौं’, उनले भने ।

क्षति भएका संरचनाको पुनर्निर्माणमा पनि तदारूकताका साथ काम भइरहेको उनको भनाइ छ । -रासस