इटहरीः काठमाडौँ महानगरपालिकाले जारी गरेको ३५ दिने सूचना अटेर गरेको अल्फाबिटा इन्स्टिच्युटको केन्द्रीय कार्यालयमा महानगरपालिकाले डोजर चलाएको छ ।
अवैध संरचना भत्काउन अनुरोध गर्दै इन्स्टिच्युटको कार्यालयमा पुगेका महानगरका मेयर बालेन साहले भवनको नक्सा माग गर्दा सञ्चालक द्विराज शर्माले आफूसँग नक्सा नभएको बताउँदै मेयर साहसँग रुखो व्यवहार गरेका थिए । त्यस क्रममा सञ्चालक शर्माप्रति क्रुद्ध हुँदै मेयर साहले शर्मालाई महानगरको सूचना स्मरण गराएका थिए । मेयर साहले प्रमुख शर्मासँग झोँक्किँदै भने, ‘तपाईको घरको नक्सा मसँग हुनुपर्छ। यहाँ यत्रो नोटिस दिएको छ । के हो यो ? ३५ दिनभित्र खाली गर, भनेर नोटिस दिएको होइन ? तपाईंको घरको नक्सा मसँग हुन्छ ?’
सञ्चालक शर्माले अशिष्ट व्यवहार गर्दै नक्सा दिन इन्कार गरेपछि क्रुद्ध हुँदै कार्यालय फर्किएका मेयर साहले कार्यालयबाट नक्सा लिई दोस्रो पटक अल्फाबिटाको कार्यालयमा पुगेर अवैध संरचना भत्काइदिएका हुन् । अल्फाबिटाले गरेको असहयोगका बीच कार्यालयबाटै नक्सा मगााएर भवन भत्काइसकेपछि मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा त्यसबारे व्यंग्यात्मक पोस्ट गरेका छन् ।
उनले लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ? अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला ।’