इटहरीः सुनसरीको धरान उपमहानगरपालिका–८ मा हिजो बिहीबार साँझ घाँटी काटिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

मृत फेला पर्नेमा धरान–१३ का ४१ वर्षीय रामबहादुर रम्तेल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार बिहीबार साँझ ५ः३० बजे उनी मृत फेला परेका हुन् । यता, मृतककी सासू ७१ वर्षीया नरमाया भुजेल पनि खुकुरी प्रहार भई घाइते अवस्थामा फेला परेकी छन् ।

उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । उनलाई आफ्नै ज्वाइँ अर्थात् मृतक रम्तेलले नै घाइते बनाएको प्रहरी अनुसन्धानले देखाएको छ । पारिवारिक विवादका कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ । नरमायाकी छोरी भने वैदेशिक रोजगारीमा गएको पाइएको छ । घटनास्थलबाट एउटा खुकुरी तथा रगत लतपतिएका कपडा बरामद गरिएको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।