धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भूमाफियाहरूले गलत बाटोबाट हडप्न खोजेको सन्दर्भमा जग्गा संरक्षण समिति गठन गरिने भएको छ ।

जग्गाको संरक्षणको लागि भनेर बिहीबार क्याम्पस प्रशासनले बोलाएको सर्वपक्षीय भेलामा क्याम्पसको जग्गा संरक्षण समितिको रूपमा सङ्घर्ष समिति गठन गरिने भएको हो ।

विभिन्न बाहानामा भूमाफियाहरूले सार्वजनिक शैक्षिक संस्थाको जग्गा हडप्ने प्रयास गरेको भन्दै जनस्तरको दबाबपछि सङ्घर्ष समितिको रूपमा संरक्षण समिति गठन गरिने भएको क्याम्पस प्रमुख चन्द्रकुमार राईले बताए ।

क्याम्पसको जग्गा बचाउन आन्दोलित विद्यार्थी, विभिन्न राजनीतिक दल, क्याम्पस प्रशासनसहित मिलेर बृहत सर्वपक्षीय संघर्ष समिति गठन गरिने भएको छ ।

‘आज हामीले मोटामोटी जग्गा संरक्षण गर्न भेला बोलाएका थियौँ । भेलाले संरक्षण समिति आवश्यक ठानेपछि पुनः भोलि भेला बोलाएका छौंँ’, राईले भने, ‘नागरिक समाज, महिला सञ्जाल तथा विभिन्न संस्थाका प्रतिनिधिहरू, सुनसरी उद्योग वाणिज्य सङ्घलगायत सर्वपक्षीय समिति बनाई योजना नै बनाएर जग्गा संरक्षणमा लाग्ने छौँ ।’

महेन्द्र बहुमुखी क्याम्पसको नाममा रहेको १७ कठ्ठा १८ धुर जग्गा लिनको लागि भूमाफियाहरू सक्रिय भएपछि धरानमा आन्दोलन शुरु हुन थालेको छ । २०३४ असार २४ गते श्यामगोविन्द श्रेष्ठमार्फत् क्याम्पसले खरिद गरेको जग्गामा ४१ वर्षपछि मोहियानी हक मागिएको छ ।

साबिक धरान ९ क को कित्ता नं २६६ को उक्त जग्गामा मोही डम्बरबहादुर घिमिरेको नाम उल्लेख छ । ४ दशकसम्म कसैले पनि मोही हक खोजी एवं दाबी नगरेको जग्गामा ४१ वर्षपछि मोही डम्बरबहादुरका माइला छोरा यज्ञबहादुरले हकदाबी गरेका हुन् ।