इटहरीः झापाको कचनकवल गाउँपालिका १ को नेपाल भारत सीमाबाट श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका ६ स्थित चन्द्र बस्ती घर भएका ४६ वर्षीय नाइके हस्दा (सन्थाल) रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार शुक्रबार राति १०ः०० बजे ४० वर्षीया श्रीमती तालामाई हस्दाको कोखामा छुरा प्रहार गरी हत्या गरेका हस्दालाई खोजतलास गर्ने क्रममा आज बिहान ९ः०० बजे पक्राउ गरिएको हो ।

छुरा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।