इटहरीः झापाको गौरादह नगरपालिका ५ बाट प्रहरीले विद्यार्थीको सिक्री लुट्ने कार्यमा संलग्न दुई जनालाई गएराति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा सोही नगरपालिका ४ चप्रामारीका टेके भनिने १६ वर्षीय विक्रम मगर र ५ का विशाल ठटाल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उनीहरुउपर शुक्रबार बिहान गौरादह ५ का १६ वर्षीय विशाल हेमरम र मदन हेमरमको चाँदीको सिक्री लुटको आरोप छ ।
पक्राउ परेका दुवै जनाले सिक्री गौरादह ५ का मिनबहादुर शंकरको सुनचाँदी पसलमा बिक्री गरेको बयान दिएका छन् । लुटिएका सिक्री ५ तोला बराबरको भएको उल्लेख गर्दै प्रहरीले इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अभियुक्तहरुउपर थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।