इटहरीः उदयपुरको चौदण्डी नगरपालिका १० खैराहा झोडा स्थित मदन भण्डारी सडकखण्डमा आज दिउँसो दम्पत्ति सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।
मृत्यु हुनेमा जिल्लाकै कटारी नगरपालिका ४ कान्छि बजार वस्ने २४ वर्षीय अभिषेक खड्का रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार इटहरीबाट गाईघाटतर्फ जाँदै गरेको प्र १०५००१ प ७४८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक खड्का र उनकी श्रीमती २० वर्षीया सञ्जिता बस्नेत घाइते भएका थिए । उनीहरु दुवैलाई उपचारार्थ उदयपुर जिल्ला अस्पताल गाईघाट लगिएकोमा खड्काको उपचारको क्रमामा दिउँसो करिब २ः०० बजे मृत्यु भएको हो ।
उनकी श्रीमती बस्नेतको भने उपचार जारी रहेको प्रहरीको भनाइ छ । मृतकले चलाएको मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बैल्टारबाट घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।