इटहरीः नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको पिण्डेश्वर विद्यापीठ धरानको ६७ औँ वार्षिकोत्सवमा विद्यार्थीको उपस्थिति लगभग शून्य देखिएको छ ।
विद्यापीठमा हिजो भएको कार्यक्रममा विद्यार्थीको सहभागिता न्यून त छँदै थियो विभिन्न प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थी समेत पुरस्कार लिन आएनन् ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथिबाहेक अन्यको खासै उपस्थिति थिएन । करिब १ सय जना नियमित विद्यार्थी रहेको पिण्डेश्वर विद्यापीठको कार्यक्रममा दुई दर्जन अतिथि, केही प्राध्यापक र कर्मचारीको मात्र उपस्थिति थियो । दर्शकदीर्घामा उपस्थिति नभएपछि केही अतिथिहरूले दर्शकदीर्घामै आसनग्रहण गरेका थिए ।
कार्यक्रम नै अव्यवस्थित
अत्यन्तै अव्यवस्थित रूपमा शुरु भएको कार्यक्रमभर वक्ताबीच घोचपेच चलेको थियो । प्राय सम्पूर्ण वक्ताले अस्तव्यस्त बनेको विश्वविद्यालयप्रति इङ्गित गर्दै उपकुलपतिलाई कटाक्ष गरेका थिए ।
प्रगतिशील प्राध्यापक सङ्का अध्यक्ष सुमन खतिवडा र प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सभापति भवानी भट्टराईले उपकुलपतिकै कारण विश्वविद्यालय धराशायी भएको बताए । विश्वविद्यालयमा बढ्दो अराजकताप्रति विद्यार्थीहरूको मनोबल गिरेको र क्याम्पसको व्यवस्थापन राम्रो हुन नसक्दा विद्यार्थीको उपस्थिति न्यून भएको उनीहरूको भनाइ थियो ।
विश्वविद्यालयप्रति भन्दा पनि दैनिकीप्रति विद्यार्थीहरू बढी सचेत रहनुपर्ने बाध्यता रहेको सोही क्याम्पसका विद्यार्थी पुष्प पराजुलीले बताए । नेपाल विद्यार्थी सङ्घका इकाइ सभापति सरोज अधिकारीले भने विद्यार्थी सङ्गठनप्रति कुनै चासो नदिएका कारण विद्यार्थीको उपस्थिति कमजोर भएको बताए ।
क्याम्स प्रमुखको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति
क्याम्पस प्रमुख चन्द्रमणि नेपालका अनुसार विद्यार्थी बाहिर कतै गएका कारण उपस्थित हुन नसकेका हुन् । पुरस्कार लिन बोलाइएका विद्यार्थी पनि उपस्थित नभएको उनको भनाइ छ । आआफ्नो समस्याले विद्यार्थी नआएको हुन सक्ने भन्दै उनीहरूको पुरस्कार पछि दिइने उनले बताए ।
औपचारिक कार्यक्रममै एकअर्काप्रति छेडछाड चलेपछि कार्यक्रमपश्चात् उपकुलपति र प्रगतिशील प्राध्यापक सङ्घबीच छलफल भएको थियो । तर छलफलबाट पनि कुनै सकारात्मक निचोड नआएको प्रमुख नेपालले बताए ।