इटहरीः नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट छुट्टिएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र केपी ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको हो । सरकारविरुद्ध सशस्त्र गतिविधिमा लागेको भन्दै केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित कालमा पनि सशस्त्र गतिविधि गर्न नछोडेको सो पार्टीले २०७७ साल फागुन २१ गते ओली नेतृत्वकै सरकारसँग सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले आफ्ना नेता, कार्यकर्ताहरुलाई हालसम्म रिहाइ नगर्नु खेदजनक रहेको बताए । आफ्ना कार्यकर्ताको अबिलम्ब रिहाइ गर्नुपर्ने उनको माग थियो ।