बराहक्षेत्रः विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीको वराहक्षेत्र ९ स्थित श्री सरस्वती माध्यमिक विद्यालयका शिक्षक पक्राउ परेका छन् ।

कक्षा ८ र ९ मा अध्यापन गर्ने शिक्षक डम्बर पइँकरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो । आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राहरूको संवेदनशील अङ्गमा हात लगाउने र अस्वाभाविक कुराहरू गर्ने पीडित छात्राहरू तथा अभिभावकहरूको आरोप छ ।

पइँकराले निकै लामो समयदेखि छात्राहरूलाई गलत व्यवहार गदै आएको बिषयमा शुक्रबार विद्यालयमा आवाज उठाएका थिए । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रअले छलफल गरेर आरोपित शिक्षकलाई जोगाउन खोजेका थिए । आइतबार बिहान विद्यालयमा आरोपित शिक्षक र पीडित बिद्यार्थीहरु राखेर माफी मगाउन खोजिएपछि आक्रोशित विद्यार्थी तथा अभिभावकहरू विरोधमा उत्रिएका थिए । प्रहरीले भने शिक्षकलाई तत्कालै पक्राउ गरेको थियो ।

घटनाको विषयमा छानबिन हुने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए ।