दमकः नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ ।

दमक–५ स्थित काङ्ग्रेस नगर समितिको कार्यालयसँगै जोडिएको क्षेत्रीय समितिको कार्यालय भवन करिब २७ लाखको लागतमा निर्माण गरिएको पार्टी क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए ।

पार्टी कार्यालय भवन बनाउन पार्टी कार्यकर्ता, शुभेच्छुकसहित मुगाधन कृष्णकुमारी राई स्मृति ट्रष्टको सहयोग प्राप्त भएको भण्डारीले बताए । आगामी पुसभित्र उद्घाटन गरिने उक्त एक तले पार्टी कार्यालय भवनमा एक हलसहित चार कोठा रहेका छन् ।

क्षेत्रीय सचिव धर्मानन्द भट्टराईका अनुसार काङ्ग्रेस दमकको समेत कार्यालय भवन पनि थप व्यवस्थित गरिने भएको छ । काङ्ग्रेस नगर उपसभापति राजकुमार गौतमका अनुसार नगर पार्टी कार्यालयको स्तरोन्नति गर्न विभिन्न संरचनाका काम धमाधम भइरहेका छन् ।