इटहरीः इटहरी चोकबाट ३ सय मिटर वरपर कुनै पनि सवारी साधन पार्किङ्ग गर्न नपाइने भएको छ । 

इटहरी उपमहानगरपालिमामा सोमबार बसेको नागरिक समाज सहितको बैठकले भदौ १४ गते मंगलबारबाट लागु हुनेगरी यस्तो निर्णय गरेको इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले बताएका छन् । 

३ सय मिटर वरपर कुनै पनि सवारी पार्किङ्ग गर्न नपाउने तथा सडकमा निर्माण सामग्री राख्न निषेध गर्नेसमेत निर्णय गरिएको छ । सडकको क्षेत्राधिकार तथा सार्वजनिकस्थलमा निर्माण सामग्री तथा व्यावसायिक सामग्री राख्न निषेध गर्ने निर्णयसमेत गरेको छ । 

सोका लागि वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेलको अध्यक्षतामा एउटा कार्यदलसमेत बनाइएको छ । सह संयोजक जितेन थापा, ट्राफिक प्रहरी निरीक्षक राकेश रेग्मी, इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक विष्णु खड्का, मानबहादुर कटुवाल, उद्योग वाणिज्य संघका विष्णुनारायण डाँगी, सदस्य हेम भण्डारी, नागरिक समाजका सुरेन्द्र तामाङ्ग, ६ लेन परियोजनाबाट रोहित तामाङ्ग, र बसपार्क व्यवस्थापनका तर्फबाट सोम ढकाल सहितका प्रतिनिधि राख्दै इटहरी उपमहानगरको सवारी शाखाका गणेश ढुङ्गाना रहने गरी कार्यदल बनाइएको छ ।

कार्यदलले इटहरीमा रहेको पार्किङ्गका समस्या केलाउने र के गर्न सकिन्छ भनेर सुझाव सहितको प्रतिवेदन दिनेगरी अधिकार दिइएको उपमहानगरपालिकाले बताएको छ । जसका लागि नगरपालिकाले माइकिङ्ग गर्ने र सार्वजनिक रुपमा जानकारी गराउने उपमहानगरले बताएको छ ।