इटहरीः झापाको भद्रपुर नगरपालिका–४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका–३ का भुपाल भुजेलका १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाउँदा उनको मृत्यु भएको छ ।

हिजो अपरान्ह ४ः३० बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले खोजी सुरु गरेको थियो ।

स्थानीयहरु समेतको सहयोगमा नदीमा खोजतलास गर्ने क्रममा प्रहरीले आज बिहान ८ः४५ बजे भुजेललाई बगाएको स्थानदेखि ७ किलोमिटर दक्षिणतर्फ नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । 

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।