इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले इटहरी चौकको तीन सय मिटर आसपासमा सवारीसाधन पार्किङ गर्न (रोक्न) निषेध गर्नेगरी हिजो गरेको निर्णय आजदेखि कार्यान्वयनमा आएको छ ।

उपमहानगरपालिकाको निर्णयबमोजिम नियमनकारी निकायले पार्किङमा कडाइ गरेपछि चौक क्षेत्रका सडक पूर्ण रुपमा खाली भएका छन् । यसले यातायात आवागमन तथा पैदलयात्रुको यात्रामा सहजता आएको छ । उपमहानगरपालिका कार्यालयमा नागरिक समाज समेतको उपस्थितिमा हिजो बसेको बैठकले चौक क्षेत्रको तीन सय मिटर वरपर कुनै पनि सवारी पार्किङ्ग गर्न नपाउने तथा सडकमा निर्माण सामग्री राख्नसमेत निषेध गर्ने निर्णय गरेको थियो ।

सोका लागि वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेलको अध्यक्षतामा एउटा कार्यदलसमेत बनाइएको छ । कार्यदलका सह संयोजक जितेन थापा, ट्राफिक प्रहरी निरीक्षक राकेश रेग्मी, इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक विष्णु खड्का, मानबहादुर कटुवाल, उद्योग वाणिज्य संघका विष्णुनारायण डाँगी, सदस्य हेम भण्डारी, नागरिक समाजका सुरेन्द्र तामाङ्ग, ६ लेन परियोजनाबाट रोहित तामाङ्ग, र बसपार्क व्यवस्थापनका तर्फबाट सोम ढकाल सहितका प्रतिनिधि राख्दै इटहरी उपमहानगरको सवारी शाखाका गणेश ढुङ्गाना रहने गरी कार्यदल बनाइएको उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

पछिल्लो समय काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिई स्थानीय तह सदस्य निर्वाचनमा भारी मतले विजयी भएर मेयर बनेका बालेन्द्र साह (बालेन) ले महानगरका अवैध संरचना भत्काउने तथा पार्किङ व्यवस्थित गर्ने अभियान चलाएपछि इटहरीको स्थानीय सरकारले किन काम नगरेको भन्ने आवाज उठ्न थालेपछि उपमहानगरले जनआवाज सम्बोधन गर्दै सडक र पार्किङ व्यवस्थापनतर्फ चासो देखाएको हो । यद्धपि, सडकमा पार्किङ गर्न निषेध गर्दा आफूहरुलाई समस्या पर्ने भन्दै केही व्यवसायीहरुले सरकारी निर्णयको आलोचनासमेत गरेका छन् । सरकारले निर्णय गरेपनि विकल्प दिन नसकेको उनीहरुको आरोप छ ।