इटहरीः हरितालिका तीज पर्वका कारण राष्ट्रिय परीक्षा बोर्डको बैठक स्थगित हुँदा कक्षा १२ को नतिजा प्रकाशन प्रभावित भएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बोर्डले दिउँसो ३ः०० बजेका लागि बोलाएकोमा तीजको दिन नतिजा सार्वजनिक नगर्न सामाजिक सञ्जालबाट दबाब आएपछि बैठक स्थगित गरेको हो । अनिश्चितकालको लागि बैठक सारिएको परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले जानकारी दिए ।
बैठक स्थििगत भएसँगै नतिजा प्रकाशनमा अन्यौल पैदा भएको छ । यसअघि भदौ १५ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने तयारीमा आफूहरु जुटेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका थिए । उनका अनुसार नतिजा लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गरिनेछ ।
जसअनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ । २०७८ सालको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी थिए ।