इटहरीः इटहरीको सबैभन्दा ठूलो समस्याको जड हो शेरा खोला । कुनै पनि जनप्रतिनिधि वा सांसदको पहिलो चुनावी नारा नै शेरा खोला नदी नियन्त्रण हुने गर्छ ।

धेरै मन्त्रीले अवलोकन गरिसकेको शेरा खोला अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । बर्खा लाग्नेबित्तिकै इटहरीवासीको टाउको दुखाइ बन्ने शेरा खोला केही स्वार्थी मानिसको पैसा कमाउने माध्यम बनेको छ ।

धरानको पानमारा र इटहरी उपमहानगरको बीचमा पर्छ शेरा खोला । त्यही खोला नियन्त्रणमा इटहरी उपमहानगरले लाखौँ खर्च गरिसकेको छ । तर हालसम्म न नदी नियन्त्रण भएको छ न खर्चको सदुपयोग भएको छ । \

इटहरी उपमहानगरले उपभोक्ता समितिमार्फत् नै काम गरिरहेको छ । इटहरी उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष बालकृष्ण बिष्ट पहिले सो समितिको अध्यक्ष थिए । उनी वडाध्यक्षमा निर्वाचित भएपछि वडा नं २ निवासी माधव कोइराला अहिले समितिको अध्यक्ष छन् ।

सोही समितिले ०७५ बैशाख १६ गते र असोज २३ गते २ पटकमा गरी नगरपालिका बाट ४८ लाख ९० हजार रुपैयाँ बुझिसकेको छ । बाँध बाँध्नको लागि सोही खोलामा भएको ढुङ्गा प्रयोग हुँदै आएको छ । तर समितिले पेश गरेको खर्च विवरणमा भने ढुङ्गा खरिदबापत ८ लाख ९७ हजार खर्च भएको देखाएको छ । तर निर्माण भएको १ वर्ष पनि नबित्दै बाँध भत्किइसकेको छ ।

त्यही विषयलाई लिएर ०७५ असोज १० गते नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परिसकेको छ । बेनामे उजुरीमा नदी नियन्त्रणको नाममा भ्रष्टाचार भएको ठहर गरिएको छ । नदी नियन्त्रण भनिए पनि कुनै सम्झौतै नभई काम गरिएको निवेदनमा उल्लेख गरिएको छ ।

इटहरी उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष बालकृष्ण बिष्ट र वडा नं २ का माधव कोइरालाको विरुद्धमा दर्ता भएको निवेदनमा व्यापक अनियमितता भएको भनिएको छ ।

सेरा खोला गैड आहाल क्षेत्रमा भएको तटबन्धनमा कुनै पनि सम्झौता भएको छैन । निवेदनमा भनिएको छ उक्त काम आर्थिक वर्ष २०७४÷०७५ मा भइसकेको छ । नगरपालिकाले हाल ४० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

सो समितिले जल उत्पन्न प्रकोप तथा नियन्त्रण कार्यालयबाट समेत पैसा लिने गरेको छ । एउटै उपभोक्ता समितिले एउटै शीर्षकमा एकै प्रकृतिको काममा बारम्बार पैसा लिने गरेको छ ।

सोही निवेदनमा इटहरी उपमहानगरपालिका वडा नं २ र ३ को सिमानामा पर्ने ट्याङ्ग्रा खोलाको पुल र इटहरी ७ मा पर्ने खेती खोलाको पुलको विषयमा पनि भ्रष्टाचार भएको भनिएको छ । २ वर्ष अघि नै टेन्डर गरे प्रक्रिया पूरा भए पनि एकै प्रकृतिको काममा टुक्रा टुक्रा गरी कोटेशन खुलाई टेण्डर खुलाउने काम भइरहेको निवेदनमा उल्लेख गरिएको छ ।

उता, समितिका अध्यक्ष कोइराला भने शेरा खोला अरु खोलाजस्तो नभएका कारण धेरै खर्च भएको बताउँछन् । जङ्गलभन्दा अग्लो स्थानमा खोला भएका कारण नियन्त्रणमा समस्या परेको उनको भनाइ छ ।

आफू पहिल्यैदेखि उक्त खोलाको विषयमा जानकार भएको र इटहरीवासीको आवश्यकता बुझेका कारण आफूले काम गरेको उनको भनाइ छ ।