इटहरीः मोरङको विराटनगर महानगरपालिका १२ स्थित रोडशेष चौकबाट भन्सार छली गरेको आरोपमा प्रहरीले गएराति एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

गएराति १०ः२० बजे मोटरपार्टस लोड गरिएको बीआर ७ के १७२४ नम्बरको ट्याक्टर भन्सार छली गरेको आशंकामा नियन्त्रणमा लिइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार ट्याक्टर चालक भारतको बिहार राज्य अररिया जिल्ला घर भएका २४ वर्षीय तलुवा मुर्मुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छली गरेको आशङ्कामा मोटर पार्टस् लोड गरिएको एउटा ट्याक्टरलाई प्रहरीले विराटनगरबाट मङ्गलबार राति नियन्त्रणमा लिएको छ । ३३ लाख रुपैयाँ मूल्य बराबरका मोटरपार्टस बोकेर विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराई बाहिरिएको ट्याक्टरलाई शंका लागेर नियन्त्रणमा लिइएको हो । ट्याक्टरको मूल्य चार लाख रुपैयाँ मूल्याङ्कन गरी ३७ लाख रुपैयाँ बिगो कायम गरी  आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीेले जनाएको छ ।