इटहरीः चाहिएका बेला फिर्ता दिने सर्तमा बचतकर्ताहरुबाट करोडौँ रुपैयाँ निक्षेप संकलन गरी सर्तविपरीत बचतकर्तालाई झुलाइरहेको सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी सँस्थाले बचत फिर्ता गर्न तदारुकता नदेखाई वक्तव्यबाजीमा उत्रिएको छ ।

यसअघि भदौ १६ अर्थात् आजबाट बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्ने बताउँदै वक्तव्य जारी गरेको बराह सहकारीले आज बचत फिर्ता गर्न नसकिएको तर बचतकर्ताको विश्वास टुट्न नदिने भन्दै हिजो नयाँ वक्तव्य जारी गरेको छ । बचतकर्ताको रकम फिर्ता गर्नुको सट्टा बचतकर्तालाई झुक्याउँदै वक्तव्यबाजीमा गर्नाले यसको नोक्सानी सहकारी स्वंयंले व्यहोर्नुपर्ने देखिएको छ । 

302010787_1689810001396316_3646135847287881073_n

बराह बचत तथा ऋण सहकारी पीडित संघर्ष समितिसँग भएको सम्झौताअनुरुप बिहीबारबाट बचत फिर्ता गर्ने भनेपनि भदौ १२ गते नै सहकारीले भदौ १६ बाट बचत फिर्ता गर्न नसक्ने जानकारी गराएको थियो । ‘सम्झौताबमोजिम भुक्तानी प्रक्रिया थालनी गर्न आवश्यक पर्ने स्रोतसाधन जुटाउन तल्लिन हुँदै तोकिएको मितिदेखि कारोबार सञ्चालन गर्न प्रतिवद्ध रहेपनि आन्तरिक तथा बाह्य प्राविधिक कारणले हामी यस कुरामा सफल हुन नसेकेको कुरा सार्वजनिक अपिल गर्दै क्षमा चाहन्छौँ ।’ बराहले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो चरणमा मुलुकको वित्तीय संकट, बैंकिङ तरलता र अर्थतन्त्रको गम्भीर संकटले व्यवसायलाई असर पारेको बताउँदै बराह सहकारीले आवश्यकताबमोजिम ठूलो व्यावसायिक परिसर खरिद गर्नुपरेका कारण केही समयदेखि बचतकर्ताको रकम फिर्ता गर्न स्थगित गर्नुपरेको बताएको छ । सहकारीले आफ्नो चलअचल सम्पत्ति बेचबिखनका लागि तयारी अवस्थामा रहेको उल्लेख गरेको छ । 

302277147_5500482400002387_3115227713064878739_n

सहकारी तत्कालीन समस्याको हल खोज्नका लागि इमानदारीपूर्वक क्रियाशील गरेको बताउँदै कम्पनीको चलअचल सम्पत्तिको बिक्रीवितरण गर्न र ऋण असुलीको वातावरण बन्न बजारमा अफवाह र हल्लाले असर गरेको बताएको छ । 

कम्पनीको चलअचत सम्पत्ति खरिदका लागि केही व्यक्ति तथा सँस्थाले चासो देखाएको भएता पनि सम्पत्ति र बैंक खाता कारोबार तत्काल रोक्का रहेकाले बेचबिखनको वातावरण नबनेको बराहको दाबी छ । 

सहकारीले बैंक तथा वित्तीय सँस्थामा थप कर्जाको लागि पहल गरिए पनि संघर्ष समिति र सञ्चालक बीचको सहमतिको कागजात माग गरिएकोमा त्यो सम्भव नभएकाले संघर्ष समितिको तर्फबाट रोक्काका लागि गरिएको अनुरोधपत्र फिर्ता लिन र थप सहमतिको साथ व्यापार सञ्चालन र भुक्तानी प्रक्रिया अगाडि बढाउनुको विकल्प नभएको बताएको छ । 

सेयर सदस्यलाई आर्थिक रुपमा माथि उठाउने आफ्नो उद्देश्य भएको बताउँदै सहकारीले सञ्चालकको निजी सम्पत्तिको बिषयमा कुनै भ्रम नपाल्न अनुरोध गरको छ । 

सञ्चालक समिति र संघर्ष समितिबीच आपसी समझदारीबिना कुनै हल निस्कन नसक्ने भन्दै सहकारीले रकम भुक्तानीका लागि थप समयसीमा निर्धारण गर्न अनुरोध गरेको छ । सँस्थाको सम्पत्ति बिक्रीका लागि सहमतिको दस्तावेजसहित संयुक्त व्यवस्थापन समिति निर्माण गर्ने र बिक्री गरी रकम कोषमा जम्मा हुन थालेपछि दुवै पक्षको सहमतिमा उदार भुक्तानी प्रक्रिया सञ्चालन गर्ने बराहको भनाइ छ । यसमा संघर्ष समितिलाई उदार हुन बराहले आग्रह गरेको छ ।

बराह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मा र बराह गु्रप अफ कम्पनी तथा अभिमत बचत तथा ऋण सहकारीका अध्यक्ष शिवकुमार लामिछाने विश्कर्माद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा बचतकर्ताको भुत्तानीको वातावरण बनाउनका लागि आफूहरु इमानदारीका साथ लागेको दाबी गरिएको छ ।