इटहरीः उदयपुरको बेलका नगरपालिका–७ गोवाटारका एउटै परिवारका ३ जनाको हत्या गरेको आरोपमा स्थानीय ४३ वर्षीय नरबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

गत  शुक्रबार बिहान गोवाटारस्थित वाबिङ खोलामा स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, बस्नेतकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेत समेत तीनै जनाको धारिलो हतियारको प्रहारबाट हत्या भएको अवस्थामा शव फेला परेको थियो । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी उपरीक्षक सहितको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा नरबहादुर बस्नेतले उक्त घटना गराइ तत्काल घटनास्थलबाट फरार रहेको भन्ने खुल्न आएसँगै तत्काल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खोजतलासमा खटिएको प्रहरी टोलीले बस्नेतलाई बेलका नगरपालिका ६ बरबोटेृबाट भाग्दै गरेको अवस्थामा घटनामा प्रयोग भएको खुकुरीसहित पक्राउ गरेको हो । 

पक्राउ परेका बस्नेतको सम्मानित जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।