इटहरीः प्रहरीले भन्सार जाँच पास भएर निस्किएको ट्रक ३५ लाखको सामान सहित नियन्त्रणमा लिएको छ । 

विराटनगर भन्सारबाट जाँच पास भएर निस्किएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । ट्र्रकमा इलेक्ट्रिक सामान रहेको र भन्सार छली गरेको आशंकामा मोरङ प्रहरीले विराटनगर महानगरपालिका १२ बाटे ट्रक नियन्त्रणमा लिएको हो ।

विराटनगर १६ का ५६ वर्षीय  ट्रक चालक रामविवेक महतोले भन्सार छली गरी भारतबाट नेपालतर्फ ना ख ३ ख ३०८७ नम्बरको ट्रकमा ल्याएको इलेकट्रोनिक्स सामान र ट्रकसहित अन्दाजी ३६ लाख बराबरको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताएका छन् ।

नियन्त्रणमा लिइएको  ट्रक अनुसन्धानका  लागि इटहरी स्थित आन्तरिक राजश्व कार्यलयमा पठाइएको बताइएको छ । भन्सारबाट जाँच पास भएर निस्किएका सामान लोड गरिएका ढुवानीका साधनलाई नियन्त्रणमा लिएर प्रहरीले बुझाएपछि राजश्वले अनुसन्धान अघि बढाउँदा कर्मचारीको मिलेमतोमा भन्सार छली भएको पुष्टि हुने गरेको छ । मंगलबार राति प्रहरीले कम मूल्याङ्कन गरी भन्सार छली गरेको आशङ्कामा मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा लिएको थियो  । विराटनगर –१२ रोडशेस चोकबाट मोटर पार्टस बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।