काभ्रेः आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उमेदवार सिफारिस कार्य टुङ्ग्याएको छ । 

काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । एमालेको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा क्षेत्र नं १ का लागि दुई महिलासहित ६ उमेदवार सिफारिसको निर्णय गरेको छ । 

सिफारिस गरिएकामा नवीना लामा, अम्बुभवानी कार्की, चन्द्र लामा, नारायण पाण्डे, कुलचन्द्र अधिकारी र रेशम लामा रहेका छन् । यस निर्वाचन क्षेत्रअन्तर्गत दुई प्रदेशसभा क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकको एमालेले जनाएको छ । 

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ का लागि गोकुलप्रसाद बाँस्कोटा सर्वसम्मत एकल उम्मेदवार सिफारिस भएका छन् । यस निर्वाचन क्षेत्रअन्तर्गतका दुई प्रदेशसभा क्षेत्रमा पनि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकेको पार्टी जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए । 

भुर्तेलका अनुसार आजदेखि प्रतिनिधिसभाका दुई र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा सामनुपातिकतर्फका उम्मेदवार सिफारिसका लागि छलफल गरिनेछ । -रासस