इटहरीः झापाको दमक नगरपालिका–८ स्थितबाट अवैध कपडा सहित २ वटा सवारी साधन प्रहरीले  नियन्त्रणमा लिएको छ ।

हिजो दिउँसो १ः३० बजे विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायबउपरीक्षक सहितको प्रहरी टोलीले दमकको पशुहाट डाँडास्थित पूर्व पश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा प्रदेश १–०१–००१ ज ३४३८ नम्वर र  मे. १ ज २८०४ नम्बरको पिकअप गाडीमा अवैध रुपमा बोकेको विभिन्न प्रकारका कपडाहरु बरामद गरेको हो । 

बरामद गरिएको करिब २२ लाख ६ हजार मूल्य बराबरको अवैध कपडासहित २ वटा पिकअप गाडी र दुवै सवारी चालक समेतलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको र अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

यसैगरी, विशेष सूचनाको आधारमा दिउँसो २ः३० बजे इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका–३ राजगढ बजारको पशुहाटस्थित खाली सार्वजनिक स्थानमा भन्सार छली अवैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपालमा ल्याई राखेको २ हजार किलोग्राम (४० बोरा) चिनी बरामद गरेको छ । 

बरामद गरेको उक्त चिनी आवश्यक कारबाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।