विराटनगरः मानव बेचबिखनको स्वरूप  फेरिएको तर मानव बेचखिबन अझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रि«य दिवसका वक्ताहरूले बताएका छन् । 

मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसको अवसरमा माइती नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) लगायतले सोमवार रानी भन्सार विराटनगरमा आयोजना कार्यक्रममा सहभागीहरूले मानव बेचबिखनको स्वरूप मात्र फेरिएकाले मानव बेचबिखन निर्मूलका लागि तीन ओटै सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले अझै पनि जोगवनी नाकाबाट मानव तस्करहरूले समूहले मानव बेचबिखन गरिरहेको बताए । उनले अहिले शिक्षित र मानव बेचबिखनको बारेमा जानकारी भएकाहरूलाई समेत राम्रो रोजगारी वा विभिन्न प्रलोभनमा चोरीको बाटो हुँदै अमेरिक पु¥याउने भन्दै मानव बेचबिखन भइरहेको बताए । शिक्षित मानिसहरू नै मानव तस्करको चङ्गुलमा परेर बेचिइरहेको अवस्था भएकाले अब मानव बेचबिखनविरूद्धको अभियानलाई सशक्त र प्रभावकारी ढङ्गले अघि बढाउन आवश्यक रहेको उनले बताए । 

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अहिले आर्थिक गतिविधिका नाममा मानव बेचबिखन हुने भएकाले त्यसको न्यूनीकरणका लागि सङ्घीय सरकार र स्थानीय सरकार बढी जिम्मेवार भएर काम गर्न आवश्यक भएको बताए । प्रमुख जिल्ला अधिकारी दाहालले अहिले मानव बेचबिखनको स्वरूप फेरिएर शिक्षाको नाममा, व्यापारको नाममा, कलाकारको नामको मानव तस्करी भइरहेकाले बेचबिखन नियन्त्रणका लागि सामाजिक सङ्घसंस्थाको सहयोग राज्यलाई आवश्यक भएको बताए । 

राष्ट्र्रिय मानवअधिकार आयोग विराटनगर प्रमुख नितु गड्तौलालले पहिले महिला र बालबालिका बेचबिखनजस्तो गरी मानव बेचबिखन नहुने भएकाले सीमा क्षेत्रसाथै राज्यले बेचबिखनविरूद्धका नीति तथा कार्यक्रम कठोर बनाउन आवश्यक रहेको बताइन् । उनले अब हात समाएर सिमाना कटाउने जमाना नभएकाले इन्टरनेटको प्रयोग गरी हुने मानव तस्करी रोक्न राज्यसहित सङ्घसंस्थाले कार्यविधि बनाउन आवश्यक रहेको उनले बताइन् । कार्यक्रममा इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले पछिल्लो समय अफ्रिकामा नेपाली चेली र वैदेशिक रोजगारीका नाममा पुरूषको बेचबिखन भइरहेकाले त्यसको न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका प्रभावकारी हुनुपर्ने बताए । थापाले स्थानीय सरकारले सङ्घीय सरकारसँग समन्वय गरी रोजगारीको अवस्था सिर्जना गर्न सके मानव बेचबिखन अन्त्यका लागि प्रभावकारी हुने उनले उल्लेख गरे । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङ शाखा अध्यक्ष सञ्जीव खनालले घरपरिवारमा मानव बेचबिखनको सचेतना परिवारका सदस्यले नै फैलाउन सकेको अवस्थामा मानव बेचबिखन नियन्त्रण गर्न सकिने बताए । गएको आर्थिक वर्षमा रानी भन्सारबाट १०६३ जनाको उद्दार, ५ हजार बेचबिखन प्रयास घटनामा नियन्त्रण, २७२ जना हराएको र ११० जना भारतमा फेला पारी उद्धार गरिएको तथ्याङ्क प्रस्तुत गरिएको छ । प्रदेश १ प्रहरी कार्यालयका तथ्याङ्कमा गएको आवमा मानव बेचबिखनविरूद्धका २३ ओटा मुद्दा कानुनी प्रक्रियामा रहेको जानकारी गराइएको थियो ।