इटहरीः झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको छ ।

हिजो अपरान्ह झापाको मेचीनगर नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १–०२–०४४ प ३९२९ नम्बरको मोटरसाइकलमा सवार रहेका लेटाङ नगरपालिका–४ मोरङका २१ वर्षीय सनिप राई र २१ वर्षीय पूर्णप्रकाश मगरलाई ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

उनीहरुका साथबाट ३ ग्राम ब्राउनसुगर बरामद भएसँगै मेचीनगर नगरपालिका–७ का २१ वर्षीय रोहित मण्डलसमेत संलग्न रहेकोले बरामद गरिएको ब्राउनसुगरसहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यता, दमक नगरपालिका–२ खरखरेबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका दमक–२ का ४१ वर्षीय भिमबहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१५ स्थित रानी भन्सार कार्यालयको १ नम्वर ढाटमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १–०२–०४ प १७५७ नम्बरको मोटरसाइकलमा सवार रहेका सुन्दरहरैँचा नगरपालिका–२ का २८ वर्षीय ज्ञानदीप चौलागाँईको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।