इटहरीः इटहरी चोकबाट करिब ५ किलोमिटरको दूरीमा रहेको इटहरीको सुन्दर तालतलैया क्षेत्रमा पर्यटकीय मार्गको विकास हुनुपर्ने सरोकारवालाले माग राखेका छन् ।
शुक्रबार तालतलैया परिसरमा पत्रकार सम्मेलन गर्दै व्यवस्थापन समितिले इटहरी क्षेत्रको मुख्य हाइवेबाट यस क्षेत्रमा आइपुग्न यातायातको सहज पहुँच नुहँदा समस्या उत्पन्न भएको गुनासो गरेको छ ।
‘ठूलो भोलममा पर्यटक आउने सम्भावना रहँदारहँदै पनि तीन पाङ्ग्रे सवारीले बाटो राम्रो भएतिरै पर्यटक तानिरहेका छन्,’ तालतलैया व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर लिम्बूले भने, ‘सडकको उच्च स्तर र यातायातको सहज व्यवस्था नहुँदा तालतलैयाले ठूलो नोक्सानी बेहोरिरहेको छ ।’ लिम्बूले तलतलैया आउने विभिन्न बाटा भए पनि इटहरी पूर्व बस स्टेण्ड नजिकबाट उत्तरतर्फ भेटघाट चोक हुँदै आउने सडक नै प्रमुख भएको हुँदा यसको स्तरोन्नति पहिलो आवश्यकता भएको औँल्याए ।
यहाँ नियमित, सहज यातायातको व्यवस्था नहुँदा निजी सवारीले भाडामा मनोमानी गर्ने गरेको उनले बताए । ‘बाटोमा खाल्डाखुल्डी हुँदा टेम्पो र इ–रिक्सा आउनै मान्दा रहेनछन् अनि कसरी पर्यटकको चाप बढोस्,’ उनले प्रश्न गरे ।
अघिल्लो साल ठूलो सङ्ख्यामा पर्यटक आएको भन्दै यस पटक पनि उल्लेख्य पर्यटक आउनेमा विश्वस्त भएको हुँदा पहुँचमार्गलाई स्थानीय सरकारले प्राथमिकता दिन समितिले माग गरेको छ । तालतलैयाको पर्यावरण र तालतलैया क्षेत्र मुख्य आकर्षणको वस्तु भएको हुँदा दिनानुदिन पर्यटक बढेको समितिको निष्कर्ष छ । तर, सडकको दुरावस्था रहिरहे आउने पर्यटक पनि घट्ने पो हुन् कि भन्ने चिन्ता लागेको समितिले जनाएको छ ।
समितिका सञ्चार उपसमिति संयोजक लोचन पौडेलले तालतलैयालाई ३ तहकै सरकारको सहयोग रहेको हुँदा पर्यटकको चाप बढ्ने सम्भावना रहेको बताए । तर इटहरी चोकदेखि तालतलैया सम्मको बाटो पर्यटकीय स्तरको हुनुपर्ने उनको पनि तर्क छ । उनले करिब ५ किलोमिटरको उक्त सडकलाई नमूना सडक बनाउनुपर्ने बताए । ‘पर्यटक हिँड्ने सडक धुलाम्मे छ । धन्न पो पर्यटक आइरहेका छन्,’ उनले भने ।
बन्दै गरेको पिच पनि पूरा नभएको अवस्थामा चाँडो पिच गर्नुपर्ने र धुलोमुक्त सडक बनाउन पहल गर्नुपर्ने उनको भनाइ छ । नियमित नगरबस चल्न सके अप सिजनमा पनि पर्यटक तान्न सकिने र यसका लागि स्थानीय सरकारले पहल गरिदिनुपर्ने उनको भनाइ छ ।
समितिका अध्यक्ष लिम्बूले तालतलैयाको डिपिआर तयार गर्ने बारेमा सरकार सकारात्मक रहेको हुँदा चाँडै यो व्यवस्थित र सुविधासम्पन्न पर्यटकीय स्थान बन्ने जानकारी दिए ।
अघिल्लो वर्ष एकै दिन १ सय ६५ पिकनिक टोली आएको तलतलैयामा यस वर्ष मंसीर १ गतेदेखि हालसम्म करिब ७० हजार पर्यटककले तालतलैया भ्रमण गरिसकेको समितिको आँकडा छ ।