झापाः विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै विभिन्न आपराधिक गतिविधि तथा लागूऔषध दुव्र्यसनविरुद्ध चेतना फैलाउने उद्देश्यले शुक्रबार आदर्श माध्यमिक विद्यालय मेचीनगरमा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय, प्रहरी साझेदारी अभियानअन्तर्गत लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा शाखा कार्यालयले स्कुल सम्पर्क कार्यक्रमसहित कार्यक्रम आयोजना गरेको हो । लागूऔषध नियन्त्रण तथा दुव्र्यसनसम्बन्धी जनचेतनासहित साइबर अपराध र ट्राफिक नियमसम्बन्धी कक्षा ११ र १२ का ९० जना विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कोमल ठाकुर र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा शाखाका प्रहरी नायब निरीक्षक किशोरकुमार श्रेष्ठले विद्यार्थीलाई सहजीकरण गरेका थिए । लागूऔषध भनेको के हो ? लागूऔषध तथा मादक पदार्थको दुव्र्यसनबाट बच्ने उपायहरू, यसका असरहरू तथा कानुनी परिणाम लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो ।

कसैले लागूऔषधको प्रयोग गर्न लागेको थाहा पाएर शुरु अवस्थामा रोक्न सके, कुनै साथीभाइले खाने निम्तो दिएमा तुरुन्त ठाउँ छाडेर हिँडे, नशा प्रयोग नगर्ने साथीभाइको सङ्गतलगायतका सकारात्मक गतिविधिमा हिँड्न सके लागूऔषधको दुव्र्यसनबाट बच्ने सकिने प्रहरी निरीक्षक ठाकुरले बताए ।

यदि साहित्य, सङ्गीत, कला र खेलकुद, नृत्य जस्ता सिर्जनशील कार्यमा आफूहरू व्यस्त भए, ध्यान, योग वा अन्य कुनै आध्यात्मिक आस्थासँग आबद्ध रहे तथा नकारात्मक प्रस्तावहरूलाई सदैव नाइँ भन्न सक्ने क्षमताको विकास गर्न सके पनि यसबाट बेलैमा बच्न सकिने सहभागी विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।

प्रहरी निरीक्षक ठाकुरले घरमा बाबुआमा वा कुनै पनि सदस्यले मादक पदार्थ वा लागूऔषध सेवन गर्ने गरेका छन् भने त्यसको अनुशरण नगर्न समेत आग्रह गरेका थिए ।

प्रहरी निरीक्षक ठाकुरले लागूऔषधसम्बन्धी दण्ड सजायका बारेमा जानकारी समेत गराएका थिए । लागूऔषधको मात्रा र प्रयोजन अनुसार ३ महिनादेखि जन्मकैद तथा ३ हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म वा दुवै जरिवाना पनि हुन सक्ने उनले बताए । मदिरा ऐन २०३१ बमोजिम कानुनी व्यवस्थाका बारेमा सहभागी विद्यार्थीहरूलाई जानकारी दिँदै मदिरा उत्पादन तथा बिक्री वितरणमा बन्देज लगाएअनुसार कसैले पनि प्लाष्टिकको पोकामा मदिरा राखेर मदिराको उत्पादन बिक्री वितरण गर्न नहुने, कसैले पनि १८ वर्ष उमेर पूरा नगरेको व्यक्तिलाई मदिरा बिक्री वितरण गर्न नपाउने व्यवस्था रहेको प्रष्ट पारेका थिए ।

दण्ड सजायमा यस ऐनविपरीत काम गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था रहेको, यस ऐनविपरीत कुनै काम गर्ने उद्योग वा त्यस्तो काम गर्न दुरुत्साहन गर्ने वा सो काममा सहयोग गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको बताइएको थियो ।

व्यक्तिको चेतनामा कमी तथा भ्रम उत्पन्न गराउने, स्मरणशक्ति कम हुने, हातखुट्टा झमझमाउने, दृष्टि कमजोर हुने, फोक्सो, कलेजो, पेट मृगौला तथा प्रजनन प्रणालीमा क्षति, विभिन्न प्रकारका सरुवा रोगहरूको संक्रमण हुने तथा आर्थिक, सामाजिक, पारिवारिक विचलन आउनु लागूऔषध दुव्र्यसनका असरहरू रहेको श्रेष्ठले जानकारी गराएका थिए ।

लागूऔषधले दुव्र्यसनी स्वयम्, परिवार, समाज, राष्ट्र अन्तर्राष्ट्रिय समुदायमा ठूलो असर पार्ने बारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो । विद्यालयका प्रधानध्यापक हेमकुमार खड्काले कार्यक्रमको उद्घाटन गरेका थिए ।