धरानः धरान उपमहानगरपालिकाले उपमहानरमा सञ्चालन भएको रेस्टुरेन्ट तथा लाउन्ज बार सञ्चालनका लागि नयाँ मापदण्ड तयार गरेको छ । 

रेस्टुरेन्टहरुले ग्राहकलाई होसै उड्नेगरी मदिरा सेवन गराउन नपाइने, मदिराको नशामा रहेकालाई घरसम्म लैजान सवारी हुनुपर्ने मापदण्डसमेत उपमहानगरले बनाउनेगरी प्रस्ताव पेस गरिएको छ  । 

प्रस्तावित मापदण्डअनुसार राति ८ः०० बजेपछि आउने ग्राहकले आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर सहितको पहिचान फारम भर्नुपर्ने व्यवस्थासमेत गर्न लागिएको छ । 

उपमहानगरको बिहीबार बसेको कार्यपालिका बैठकमा लाउन्ज बार सञ्चालनको  एजेन्डामाथि छलफल भएको हो । होटल र रेस्टुरेन्ट (लाउन्ज एण्ड बार) सम्बन्धी नयाँ मापदण्डका रुपमा कार्यपालिका बैठकमा प्रस्ताव गरिएको छ । कार्यपालिकाको बैठकमा सभाध्यक्ष नगरप्रमुख हर्क साम्पाङ्गले सो प्रस्ताव राखेका थिए भने उपमेयर अइन्द्रविक्रम बेघाले नयाँ मापदण्डको व्यहोरा पढेर सुनाएका थिए ।

305504273_496638262299011_7436845184888290334_n

नयाँ ल्याइएको मापदण्डमा लाउञ्ज एण्ड बार बढीमा बिहान २ः०० बजेसम्म खोल्न पाउने उल्लेख छ भने सामान्य प्रकृतिका होटल तथा रेस्टुरेन्ट भने बढीमा राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाइएको छ ।

नयाँ मापदण्डमा लाउन्ज एण्ड बार र होटलहरुले ग्राहकलाई मदिरा खुवाउँदा होसहवास हराउनेगरी वा ग्राहकले आफूलाई नियन्त्रणमा राख्न नसक्नेगरी धेरै मात्रामा मदिरा सेवन गराउन नपाउने उल्लेख गरिएको छ । यस्तै, मदिरा सेवन गरी अत्याधिक नशामा रहेका ग्राहकलाई घरसम्म पुर्याउने सवारीको व्यवस्था गर्नुपर्नेसमेत नयाँ मापदण्डमा उल्लेख छ ।

यस्तै, ग्राहकको सुरक्षाको लागि सीसी क्यामेरा जडान, प्राइभेट वा छुट्टै पार्किङको व्यवस्था, साउण्ड फ्रुफ भित्ताको व्यवस्था, कर्मचारीको पहिचान खुल्ने पोसाक र बाउन्सरको व्यवस्था हुनुपर्ने लगायतका मापदण्डसमेत ल्याइएको छ ।

रात्रिकालीन बजारको माग सम्बन्धित होटल व्यवसायी तथा रेस्टुरेन्टहरुले धेरै अघिदेखि गर्दै आएकोले यो किसिमको एजेन्डा अघि सारिएको मेयर साम्पाङले बताएका छन् ।

छलफलपछि थप सल्लाह सुझाव लिने तथा सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय गरेर अध्ययन प्रतिवेदन दिनेगरी अनुगमन समिति बैठकले गठन गरेको छ । धरान–२ का वडाध्यक्ष रमेश राईको संयोजकत्वमा वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगर प्रहरी प्रमुख सदस्य रहने र सम्बन्धित महाशाखा प्रमुख सदस्यसचिव रहनेगरी समिति गठनसमेत भएको छ । एक साताभित्र सो समितिले प्रतिवेदन बुझाउने र अर्को बैठकमा प्रस्तावलाई पारित गरिने उपमेयर बेघाले जानकारी दिएका छन् ।