इटहरीः इनरुवा नगरपालिकाको साप्ताहिक हटियाको बिरौटी कर ठेकेदारले नगरपालिकामा ठेक्का सम्झौता नगरीकनै उठाएको खुल्न आएको छ । 

इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि नगरक्षेत्रमा बहाल बिटौरी करको ठेक्का ठेकेदारबाट बोलकबोल रकम जम्मा नगरी सम्झौतबिना नै संकलन गर्न दिएको पाइएको हो । 

इनरुवा नगरपालिकाले चालु आर्थिक वर्षका लागि नगरपालिका क्षेत्रभित्र लाग्ने दैनिक तथा साप्ताहिक हाट बजारमा बिक्री कर संकलनका लागि ८० लाखमा २०७९ साउन २१ गते ठेक्का लगाएको थियो ।

बहाल बिटौरी कर संकलनका लागि नगरपालिकाले न्यूनतम ७५ लाख ठेक्का रकम तोकेकोमा इनरुवा १ घर भएका ठेकेदार गोपाल नेपाली (प्रताप)ले ८० लाख रुपैयाँमा ठेक्का सकार गरेका थिए ।

ठेक्का सकार गरेका ठेकेदार गोपाल नेपाली (प्रताप)ले इनरुवा नगरपालिका कार्यालयबाट जारी भएको बिक्री कर रसिद छपाएर नगरपालिका कार्यालयको सरकारी छाप लगाएर इनरुवा नगरक्षेत्रमा कर संकलन गर्दै आएका थिए ।

नगरपालिका कार्यालयले साउन २१ गते ठेक्का सकार गरेका ठेकेदारले उठाउँदै आएको बाहाल बिटौरी करको ठेक्का रद्द गरिएको सूचनासमेत जारी नगरी भदौ १६ गते ठेक्काको सिलबन्दी बोलपत्रको २४ घण्टे सूचना प्रकाशित गरेको थियो ।

नगरपालिकाले ठेक्का बोलकबोल भइसकेको बहाल बिटौरी करको पुनः एक महिनापछि २४ घण्टे सूचना निकालेर भ्याटबाहेक न्यूनतम ७० लाख ठेक्का रकम तोकेपछि नगरपालिका कार्यालयबाट भएको ठेक्कासम्बन्धी गम्भीर लापरबाही प्रकरण सार्वजनिक भएको हो ।

इनरुवा नगरक्षेत्रमा बहाल बिटौरी कर संकलनको ठेक्का लिँदै आएका ठेकेदारहरुले नगरपालिकाले बोलकबोल रकम कार्यालयको खातामा जम्मा नगरी ठेक्का सकार गर्ने ठेकेदारसँग सम्झौता नगरी सरकारी छाप लगाएको रसिद दिएर एक महिनासम्म बिक्री कर संकलन गर्न दिनु फाँट र कर्मचारीबाट ठूलो गल्ती भएको बताउँछन ।

कानूनअनुसार ठेक्का सकार गरी ठेक्का सम्झौता नगर्ने ठेकेदारले टेन्डर फारम दर्ता गर्दा बुझाएको घरौटी बापतको रकम जफत हुने व्यवस्था रहेपनि ठेक्का लिएर एक महिनासम्म कर संकलन गरी सम्झौता नगर्ने र संकलन गरेको रकम नगरपालिकामा दाखिला नगर्ने ठेकेदारलाई कुन कानूनी कारबाही गर्ने भन्ने व्यवस्था स्पष्ट नहुँदा अन्यौल सृजना भएको छ । 

इनरुवाका मेयर केदार भण्डारीले राजश्व शाखाका कर्मचारीसँग यस विषयमा जानकारी लिएर यथार्थ बुझ्ने क्रममा आफू रहेको बताए ।

इनरुवा नगरपालिकाका राजश्व शाखाका अधिकृत जीवन भट्टराईले आफू कार्यालयबाट बिदा लिएर व्यक्तिगत कामका लागि बाहिर गएको समयमा बहाल बिटौरी करको ठेक्का लागेकाले यस विषयमा के भएको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने काम सुरु गरिएको बताए ।

इनरुवा नगरपालिकामा यस वर्ष आन्तरिक आय तर्फको कर लगाउने ठेक्काहरु समयमा नलाग्दा नगर प्रहरीले कर संकलन गर्दै आएको थियो । हाट बजार कर अनाधिकृत रुपमा उठाउँदै आएका ठेकेदार गोपाल नेपाली (प्रताप)लाई कर संकलनमा रोक लगाएपछि सोमबारबाट पुनः नगर प्रहरीमार्फत् कर संकलन थालिएको छ ।