इटहरीः इटहरी उप–महानगरपालिका–६ मा रहेको बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई विद्युतीय अटो टेम्पो हस्तान्तरण गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणाअनुरुप आज एक कार्यक्रमको आयोजना गरी सोरुमका प्रबन्धक प्रदीप सन्थालियाले चालकसहित ९ सिट क्षमता भएको एउटा विद्यतीय अटो टेम्पो १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायबमहानिरीक्षक (डीआईजी) सुदीप गिरीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै सन्थालियाले प्रहरी नागरिकको निम्ति अहोरात्र खटिएको हुनाले हामी सुरक्षित रहेका छौँ भन्दै आगामी दिनहरुमा समेत प्रहरीलाई आवश्यक सहयोग गरिरहने बताए ।

 कार्यक्रममा प्रदेश प्रहरी प्रमुख गिरीले सोरुमका प्रबन्धक सन्थालियालाई विशेष धन्यवाद दिँदै उक्त विद्युतीय अटो टेम्पो विशेष गरी आत्महत्या रोकथाम तथा न्यूनीकरण अभियानको लागि प्रयोग गरिने साथै प्रहरी गस्तिको लागि पनि परिचालन हुने बताए ।