फिक्कलः इलाम जिल्लाको मेची राजमार्ग तथा आसपासका सडकमा सवारी चेकजाँच सम्बन्धी बिषेश अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरीबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुासर पक्राउ पर्नेमा इलामको संदकपुर गाँउपालिका ४ का ३२ वर्षीय राम लिम्बू, पाँचथर तुम्बेवा गाँउपालिका ५ का ४२ वर्षीय गोपिचन्द्र कुरुङबाङ , पाँचथरकै फिदिम नगरपालिका ८ बस्ने ३८ वर्षीय बमबहादुर मुखिया, इलाम नगरपालिका ५ का ३२ वर्षीय चेवनकुमार बजगाईँ, इलाम नगरपालिका ४ का ४३ वर्षीय सरोज कोइराला, इलामको संदकपुर गाँउपालिका ५ बस्ने २२ वर्षीय रबिन लिम्बू र सोही स्थानका ३४ वर्षीय जितेन लिम्बू रहेका छन् ।

उनीहरुलाई मादक पर्दाथ सेवन गरी सवारी चलाएर यात्रुको ज्यान जोखिममा पारेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय इलामबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले जिल्लाभर चाडबाड लक्षित सचेतना कार्यक्रमसमेत सुरु गर्ने जनाएको छ । प्रहरीले जिल्लाभरका सडकमा प्रहरी खटाएर अभियान नै सुरु गरेको छ । यसैबीच जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई ह्विल लक लगाउन थालिएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।