इटहरीः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको भदौ ३० गतेबाट आवेदन खुल्ला गर्ने भएको छ । 

प्रहरी प्रधान कार्यालयले आइतबार एक सूचना प्रकाशन गर्दै भदौ ३० गतेबाट असोज ६ गतेसम्म आवेदन लिने मिति सार्वजनिक गरेको हो । मंसिर ४ गते हुने २ तहको निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख १५ हजार म्यादी प्रहरी लिने भएको छ । साधारण लेखपढ गर्न जान्ने, राजनीतिक दलको सदस्यता नलिएको तथा पुरुषको हकमा ५ फिट २ इन्च र महिलाको हकमा ५ फिट उचाइ भएको नेपाली नागरिकले म्यादी प्रहरीका लागि आवेदन दिन सक्ने नेपाल प्रहरीको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले जनाएको छ । स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीको सन्तोषजनक काम गरेका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नेपालमा सेवा गरी उपदान तथा निवृतिभरण प्राप्त पूर्वसुरक्षाकर्मी तथा पूर्व वनरक्षकलाई प्राथमिकता दिनेगरी आवेदन खुल्ला गरिएको छ ।

यस्तै, सुरक्षा निकायमा २०७९ भदौ महिनासम्म भर्नाको लागि आवेदन दिएका र शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्ण भएका र विदेशी मित्र राष्ट्रको सुरक्षा निकायमा काम गरी सेवा निवृत नेपाली नागरिकलाई समेत प्राथमिकता दिने नेपाल प्रहरीले बताएको छ । निर्वाचनको ४० दिन खट्नका लागि भर्ति गर्न लागिएका म्यादी प्रहरीहरुको छनौट प्रक्रिया असोज ९ गतेबाट १४ गतेसम्म हुने र असोज ३० गतेदेखि कार्तिक ८ गतेसम्म एक हप्ताको तालिम सञ्चालन गरिनेछ । सेवासुविधाबापत म्यादी प्रहरीका लागि दैनिक ८६९ रुपैयाँका दरले ३४ हजार ७६० रुपैयाँ, खाद्यान्नबापत एकमुस्ट ७ हजार २ सय र तोकिएको पोसाक तथा अन्य सामान खरिद गर्न एकमुस्ट ६ हजार रुपैयाँ उपलव्ध गराउनेछ । यस्तै म्यादी प्रहरीलाई ४ दिनको खाजा खर्च र आउने जाने तयारीस्वरुप १ हजार एकमुष्ट प्रदान गर्ने प्रहरी प्रधान कार्यालयले बताएको छ ।