फाइल तस्बिर
इटहरीः भारतको कोलकतामा ३३ किलो सुनसहित २ जना नेपाली पक्राउ परेको कोलकता प्रहरी स्रोतले बताएको छ । कोलकत्ता प्रहरीको लालबजार कन्ट्रोल स्रोतका अनुसार इटहरी घर बताउने हेमकुमार शर्मा र राकेशप्रसाद भन्ने व्यक्तिलाई सुनसहित नियन्त्रणमा लिइएको हो

औपचारिक रूपमा नेपालको सरकारी संयन्त्रलाई जानकारी नभए पनि अनौपचारिक जानकारी पश्चात नेपाल प्रहरीले पनि घटनाको विषयमा अनुसन्धान शुरु गरेको प्रहरी स्रोतले बताएको छ । पक्राउबारे थाहा पाएपछि चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणसँग यो घटनालाई जोडेर अनुसन्धान शुरु भएको बताइएको छ ।

कोलकत्ताको लालबजार प्रहरी स्रोतका अनुसार शुक्रबार दिउँसो कोलकतामा सुनसहित दुई नेपाली नागरिक पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा छन् । उनीहरूको कारबाट सुन बरामद गरिएको हो ।

उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ को नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीन्टल अर्थात् ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार भएको प्रहरीको अनुमान छ ।

३३ किलो सुन काण्डमा जिल्ला अदालत मोरङमा दायर भएको मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको बिगो दाबी गरिएको थियो । तर, हराएको भनिएको सुन बरामद नभएपछि मुद्दा कमजोर बनाइएको आरोप लाग्दै आएको थियो ।