झापाः झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने तयारी गरेको छ ।

बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का लिएर काम सम्पन्न नगरी अवधि गुजार्ने धुलिखेल निर्माण सेवालाई कारबाही गर्ने तयारी नगरपालिकाले गरेको हो ।   

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न पत्राचार गरिएको जानकारी दिए । 

तीन दिनभित्र कार्यप्रगति नदेखिए सार्वजनिक खरिद ऐन, २०६४ अनुसार धरौटी जफत गरी कारबाही प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ । निर्माण कम्पनीले विसं २०७९ असार १ गते भवन निर्माण सम्पन्न गर्ने गरी २०७७ असार ८ गते रु पाँच करोड ५० लाख सात हजार ७६० मा ठेक्का सम्झौता गरेको थियो ।