इलामः झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो (फाष्ट ट्र्याक) राजदुवाली–बुढीसुखानी– शनिश्चरे सडक कालोपत्रे हुने भएको छ । मेची राजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नम्बर १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो ।

सडक बनेपछि ७८ किलोमिटर लामो बाटोको सट्टा ५३ किलोमिटरको बाटो बढी प्रयोग हुने देखिन्छ । यो बाटोमार्फत् झापादेखि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ यात्रा गर्न छिटो हुने छ । सडकलाई बहुवर्षे ठेक्कामार्फत् कालोपत्रे गर्नका लागि प्रक्रिया अघि बढेको माई नगरपालिकाका प्रमुख दीपक थेबेले बताए ।

इलामको राजदुवालीको माईपुलदेखि मेचीराजमार्गमा जोड्ने सडक कालोपत्रेका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ विनियोजन गरेको छ । ट्र्याक निर्माण भएको ५ दशकपछि सडक कालोपत्रेका लागि प्रदेश सरकारले कालोपत्रेको योजना अघि सारेको इलाम क्षेत्र नं २ का प्रदेश सांसद धीरेन्द्र शर्मा ‘रमण’ ले बताए ।

तत्काल ३७ किमी सडकका लागि ४ वटा प्याकेज छुट्याइएको छ । पहिलो चरणमा १० किमीको बहुवर्षे ठेक्का स्वीकृत गर्ने उनले बताए ।