विराटनगरः झट्ट हेर्दा हुबहु मदन भण्डारी । दासढुङ्गा घटना भएको यतिको समय भइसक्दा पनि अनेकौँ अनुत्तरित प्रश्नहरू छन् । तिनै प्रश्न गर्न मञ्चमा उभिएका छन् मदन भण्डारी, उर्फ बर्बरिक ।
मदनको भूमिगत नाम हो यो । २०४६ पूर्व र पछिका राजनीतिक घटनाक्रम हुँदै दासढुङ्गासम्मको सचित्र बयान यस नाटकले गर्छ । सोही नाटकमा मदनको भूमिकामा छन् रङ्गकर्मी भरत गुरागाईं । भण्डारीको दुरुस्त अभिनय गरेका भरतलाई धेरैले नाटकपश्चात् प्रतिक्रिया दिएका छन्, ‘ठ्याक्कै मदन भण्डारी ।’
प्रदीप नेपालको उपन्यास बर्बरिकमाथि नाटक मञ्चन गरिएको हो । उपन्यासको नाट्य रूपान्तरण गरेका रङ्गकर्मी गुरागाईले झोराहाटबाट सत्ता सञ्चालकलाई प्रश्न गर्न नाटक मञ्चन गरिएको प्रतिक्रिया दिए ।
‘कम्युनिष्ट जगमा उभिएको यो सरकार हालसम्मकै शक्तिशाली हो’, उनले भने, ‘शक्तिशाली सरकारले विगतका प्रश्नको जवाफ दिन सक्छ भन्ने ठानेर नै यही बेला यो नाटक मञ्चन गरिएको हो ।’
बर्बरिक महाभारत युद्धको एक शक्तिशाली पात्र हो । तर, उसले युद्धमा भाग लिन पाएन । यही विषयलाई चित्रित गर्दै प्रदीप नेपालले जनताको बहुदलीय जनवादका जन्मदाता स्वर्गीय मदन भण्डारीलाई बर्बरिक पात्रसँग तुलना गरेका छन् ।
मदन भण्डारीको बहुुआयामिक व्यक्तित्व, लेखनशिल्प, काव्यिक चेत र दूरदर्शीतालाई नाटकमा प्रस्तुत गरिएको बताउँदै गुरागाईं भन्छन्, ‘हिजोका अनुत्तरित प्रश्न गर्भमै रहनुहुँदैन, यसको जवाफ भावी पुस्तालाई चाहिन्छ भन्ने सोचका साथ यो नाटक मञ्चन भइरहेको छ ।’
मोरङको झोराहाटमा बिहीबारदेखि शुरु भएको नाटक पुस २ गतेसम्म चल्नेछ । कलेज तहका विद्यार्थीलाई लक्षित गरी देखाउन लागिएको यो नाटकले वर्तमान राजनीतिक नेतृत्वलाई घच्घच्याउनेछ । करिब १५ दिनको अभ्यासले पूर्णता पाएको नाटकले उपन्यास र स्वर्गीय मदन भण्डारीको ‘नेचर’लाई न्याय दिन खोजेको यसका निर्देशक जीवन बरालले बताए ।
‘मदन भण्डारीको जीवन भावी पुस्तालाई मार्गदर्शक बन्न सक्छ’, उनले भने, ‘यो नाटक हेरेका केहीले मात्र पनि जीवनमा सार तत्व ग्रहण गर्न सके हामी सफल भएको ठान्ने छौँ ।’
नाटक हेर्न विद्यार्थीलाई विशेष सहुलियत दिइएको छ । डेढ वर्ष अघि तयार गरेको उपन्यासको नाट्य रूपान्तण गर्न गुरागाईंले उपन्यासकार नेपालसँग अनुमति लिएका थिए । गुरागाईंले नाटकलाई जीवन्त बनाउन लामो समय भण्डारीसँग सङ्गत गरेका मोरङका नेता गुरु बरालसँग पनि छलफल गरिएको बताए ।
उनले भण्डारीको आनीबानी र हाउभाउ समेत दुरुस्त राख्न उनका पुराना साथीसँग पनि भेटेको बताए ।