काठमाडौँः आन्तरिक राजश्व कार्यालय महाराजगञ्ज, काठमाडौँमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा प्रधानलाई आयोगको टोलीले गत साउन १८ गते घुससहित पक्राउ गरेको थियो । प्रधानले घुस लिएको पुष्टि भएको र त्यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार अभियुक्त प्रधानउपर ३० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको छ । अभियुक्त प्रधानमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम कारबाही माग गरिएको आयोगले जनाएको छ ।