लेटाङः मोरङको लेटाङ नगरपालिकाले दोश्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको सुरुवाती सय दिनको कार्य प्रगति सार्वजनिक गरेको छ ।

आज नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि भएका महत्वपूर्ण कामहरुबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख भुपेन्द्रकुमार लावतीले नगरवासीलाई समेत नगरको विकासमा जिम्मेवार बनाउने उद्देश्यले खासगरी पर्यटन क्षेत्रको विकासका काममा नगरवासीलाई सहभागी गराएर केही नयाँ काम सुरु गरिएको जानकारी दिएका थिए  । नगरप्रमुख लावतीले लेटाङको पर्यटन विकासका लागि जनताको सहभागितामा सडक सौन्दर्यीकरण, पर्यटकीय पदमार्ग निर्माण र गुराँस संरक्षण तथा पर्यटन क्षेत्र विकास कार्यक्रमको थालनी गरिएको बताए । 

लेटाङ नगरपालिकाको प्रवेशद्वारको रुपमा रहेको लेटाङ कानेपोखरी सडकको गंगेचौकदेखि दक्षिण जंगलतर्फ सडक फराकिलो बनाएर १ किलोमिटर क्षेत्रमा सौन्दर्यीकरणको काम सम्पन्न भएको बताउँदै मेयर लावतीले यसअघि फोहोर फाल्ने गरिएको सो क्षेत्रमा विभिन्न आकर्षक प्रजातिका फूल फूल्ने रुखका विरुवा रोपेर सौन्दर्यीकरणको काम सुरु गरिएको समेत जानकारी गराएका थिए  । यस्तै लेटाङ नगरपालिकाको आग्रहमा स्थानीयवासीको स्वतस्फूर्त सहभागितामा पदमार्गको झाडी फाँडेर सरसफाइ गर्ने काम सम्पन्न भएकाले अब त्यस ठाउँमा नगरपालिकाले थप सौन्दर्यीकरणको काम गर्ने जनाइएको छ । यसैगरी, लेटाङ नगरपालिकाको वडा नम्बर ७ मा गुराँस संरक्षण तथा पर्यटकीय क्षेत्र विकासको काम पनि नगरपालिकाको आग्रहमा वडा र स्थानीयवासीको सहभागितामा सुरु गरिएको नगरप्रमुख लावतीको भनाइ छ । 

letang2

नगरपालिकाले पछिल्लो सय दिनमा बालिका बचत कार्यक्रम, आमाबुबाविहीन बालबालिकाहरुलाई निःशुल्क शिक्षा, स्थानीय पाठ्यक्रम अध्यापनको सुरुवात र लिम्बू बाहुल्य क्षेत्रका विद्यालयमा लिम्बू भाषामा पठनपाठनका लागि तयारी सुरु गरिएको उपप्रमुख कृष्णकुमारी निरौलाले पत्रकार सम्मेलनमा बताइन् । बालिका बचत कार्यक्रम अन्तर्गत नगरपालिकाका पहाडी भूगोल भएका वडाका अब जन्मिएका बालिकाहरुको नाममा बैंक खाता खोलेर नगरपालिकाले १६ वर्षसम्म प्रत्येक वर्ष २ हजार रुपैयाँका दरले रकम जम्मा गरिदिने जनाइएको छ । यसरी नगरपालिकाले जम्मा गरिदिएको रकममा अभिभावकले पनि रकम थप गर्न सक्नेछन् भने सो रकम बालिकाले एसईई उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने समयमा मात्र निकाल्न पाइनेछ । यसबाट नगरको पहाडी वडाका बालिकाहरुले बीचैमा पढाइ छोड्ने समस्या समाधान हुने तथा आर्थिक अभावका कारण एसईई पछिको अध्ययन पूरा गर्न समस्या भएका बालिकाहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले विद्यालय तहको शिक्षा निःशुल्क भने पनि पूर्ण रुपमा कार्यान्वयन नभएकाले शिक्षाको उज्यालो घामबाट नगर भित्रका कोही पनि बालबालिका बञ्चित नहोउन् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरिएको उपप्रमुख निरौलाको भनाइ छ । नगरप्रमुख र उपप्रमुखले गत जेठ ९ गते पदभार ग्रहण गर्दै गर्दा नगर क्षेत्र भित्रका अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरेअनुसार त्यसको कार्यान्वयन गरिएको हो । लेटाङ नगरपालिको शिक्षा क्षेत्रमै अर्को महत्पवूर्ण काम पनि सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।  लेटाङ नगरपालिकाका लिम्बू जातिको बाहुल्य रहेको क्षेत्रका विद्यालयमा लिम्बू भाषाको पठनपाठन सुरु गर्ने उद्देश्यका साथ पाठ्यक्रम निर्माणको काम अघि बढाइएको जनाइएको छ ।