फिदिमः जापानी मुद्रा ‘येन’को छपाइमा प्रयोग हुने अर्गेलीको माग जापानमा उच्च भए पनि व्यावसायिक खेती नहुँदा नेपालले भरपूर फाइदा लिन सकेको छैन ।

गत वर्षदेखि फालेलुङ गाउँपालिकाको दाजुभाइ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था लिमिटेडको अगुवाइमा जापानमा अर्गेली निर्यात हुन थालेको छ ।

गत वर्ष सो सहकारीले १३ टन अर्गेली जापान निर्यात गर्दा ५९ लाख १५ हजार रुपैयाँ आम्दानी भएको बताएको छ । सो सहकारीले यस वर्ष २० टन अर्गेली निर्यात गर्ने लक्ष्य राखेको बताइएको छ ।

व्यावसायिक खेती बढ्दै
जिल्लाका च्याङथापु, फलैँचा, ओयाम, सिदिन, लुङरुपा, फिदिमलगायतका स्थानमा अर्गेलीको व्यावसायिक खेती हुन थालेको छ । देशभरिबाट करीब ६० टन अर्गेली जापान निर्यात हुने गरेको छ ।

चिसो हावापानी भएका स्थानमा बारीका कान्ला र पाखो बारीमा लगाउन मिल्ने अर्गेलीको बिरुवाबाट ४ वर्षपछि लोक्ता निकाल्न मिल्ने किसान बताउँछन् ।

argeli kheti

जापानमा माग भएबमोजिमको उच्च गुणस्तरको अर्गेलीको बोक्रा बिक्री गरेर बाँकी रहेको कच्चा पदार्थले स्थानीय स्तरका नेपाली हाते कागज उद्योग सञ्चालन गर्न सकिने किसान बताउँछन् । फिदिम नगरपालिकाले वडा नं ३, ८ र १४ मा किसानलाई खेती प्रविधि र हाते कागज निर्माणसम्बन्धी तालीमसमेत सञ्चालन गर्दै आएको छ ।

अघिल्लो वर्ष १ लाख केजी अर्गेली निर्यात
गत वर्ष पाँचथरबाट १ लाख २ हजार ७ सय ८२ किलो अर्गेली निर्यात भएको डिभिजन वन कार्यालय पाँचथरको तथ्याङ्क छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २९ हजार ५ सय किलो अर्गेली निर्यात भएको कार्यालयले जनाएको छ । सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार जिल्लाको ६८ दशमलव ७७ हेक्टर क्षेत्रफलमा अर्गेली खेती गरिएको छ ।