बेलबारीः सरकारले केही समयअघि घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यमध्येको एउटा गन्तव्य हो मोरङको धनपालगढी ।
मोरङको बेलबारी नगरपालिकामा पर्ने धनपालगढीको ऐतिहासिक महत्व रहेको छ । त्यहाँ रहेको एउटा भग्नावशेषलाई राजा धर्मपाल वाल धनपालको गढी भनेर चिनिन्छ । सो गढी सेनवंशी राजाहरूभन्दा पनि पहिलेका बङ्गालका पालवंशीय राजाकै पालाको गढी भएको भनेर विद्वानहरूले आँकलन गरेको बताइन्छ ।
धनपालगढीमा हरेक वर्ष वैशाख १० गते मेला लाग्दै आएको छ । धनपालगढीमा ऐतिहासिक र पुरातात्विक महत्वको राजाको दरबारको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् । ३५ बिघा क्षेत्रफलमा फैलिएको सानो जङ्गलभित्र धनपाल राजाको ऐतिहासिक दरबारको अवशेष बाँकी छ । धनपाल राजाले खनेका ९ पोखरीमध्ये तीन पोखरी अझै बाँकी रहेको मानिएको गढीमा रहेको राजाको मन्दिरमा विशेष गरी स्थानीय थारू समुदायले पूजा गर्ने गरेका छन् ।
कसरी पुग्ने ?
विराटनगरबाट २१ किलोमिटर उत्तर पूर्व र महेन्द्र राजमार्गको बेलबारीबाट ८ किलोमिटर दक्षिणमा रहेको सो स्थानको मन्दिरमा हात्तीमा चढेको राजा धनपालको मूर्ति र ठूला नौ वटा घण्टा भने चोरी भइसकेको स्थानीय बताउँछन् ।
गढीमा विराटचोक हुँदै नेताचोकबाट पनि जान सकिन्छ । दरबारका केही इँटा र ताम्रपत्र, देवालको भग्नावशेष, इनारको पाटा मात्रै अवशेषका रूपमा रहेका छन् ।
धनपालको किंवदन्ती
राजा धनपालकी छोरी फूलवादेवी असाध्यै राम्री र शक्तिशाली भएकाले उनले आफ्नी छोरीलाई पराजित गर्नेलाई राजकुमारी दिने निधो गरेका थिए । भारतबाट आएका अल्लाहरूदल नामका राजकुमार राजकुमारीसँग कुस्तीमा पराजित भएपछि धनपालसँगै युद्ध गरेका थिए ।
धनपालसँग पनि हारेपछि अल्लाहरूदलले छलकपट गरेर हजाममार्फत् दारी काट्ने निहुँले धनपालको घाँटी काट्न लगाएर आफ्ना सेना परिचालन गरी राजकुमारीको अपहरण गरेका थिए । त्यसपछि राजा धनपालको गढी सुनसान भएको जनविश्वास छ ।
धनपाल पोखरीमा दुर्लभ सेतो र रातो कमलको फूल पाइन्छ । हिउँदको समयमा दैनिक ५० वटा समूहसम्म यहाँ वनभोज खान आउने गर्छन् । भारतको विहार क्षेत्रबाट पनि वनभोज खान गढीमा आउने गरेको स्थानीय बताउँछन् ।
हरेक वर्षको चैतको शनिबार यहाँको मन्दिर आसपासका बासिन्दा आएर साँझ बत्ती बाल्ने र एक शनिबार बोका र पाठी बली दिएर त्यहीँ बसेर मासुलाई प्रसादका रूपमा ग्रहण गर्ने चलनले हालसम्म निरन्तरता पाइरहेको छ ।
पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको यो ठाउँको विकास र विस्तारका लागि सरकारले बृहत् योजना बनाई व्यवस्थित ढङ्गले काम गर्नुपर्ने स्थानीय बताउँछन् ।