इलामः यही पुस २० गतेदेखि इलाम सदरमुकाममा लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो ।

सो सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ । सो अवसरमा ओलीलाई नागरिक अभिनन्दन पनि गरिने नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए ।

बाह्य लगानी कम भएको भन्दै नगरपालिकाले कृषिजन्य उद्योग, पर्यटन, उच्च शिक्षा, स्वास्थ्य क्षेत्र र जडीबुटी उद्योगको प्रवद्र्धनका लागि सम्मेलन गर्न लागेको बताइएको छ ।

सम्मेलनमा लगानीकर्ताहरू, उद्योगपति, जिल्लास्थित उद्यमीहरूलाई निमन्त्रणा गरिने जनाइएको छ । लगानी आकर्षण गर्नका लागि नगरपालिकाले लगानी प्रवद्र्धन नीति र घरेलु उद्योग प्रवद्र्धन नीति बनाउने जनाएको छ ।