इटहरीः रामधुनी नगरपालिकाले पचास प्रतिशत अनुदानमा दिएको पावर टिलर कतै पावर तथा पहुँचवालालाइ त कतै आवश्यकता नै नभएको व्यक्तिलाई दिएको खुलेको छ । 

गत असार महिनामा रामधुनी नगरपालिकाले किसानहरुलाई पचास प्रतिशत अनुदानमा कृषि औजारअन्तर्गत पावर टिलर अर्थात हाते ट्याक्टर वितरण गरेको थियो । कृषकलाई कृषि सामग्री वितरण गर्नुअघि नगरपालिकाको कृषि शाखाले अनुगमन गरेरै दिने गरेको कृषि शाखाकी पाँचौ तहकी कर्मचारी फूलकुमारी राई बताउँछिन् । तर नगरपालिकाले वितरण गरेको उक्त अनुदानको पावर टिलर जनप्रतिनिधिको  पाँच वर्षे कार्यकाल भर्खरै सकेका रामधुनी नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष हेमनारायण राजधामीले आफ्नी श्रीमती काशवति धामीको नाममासमेत अनुदान दिएको खुलेको छ । नगरपालिकाको कृषि शाखाले तयार गरेको किसानहरुको विवरणमा काशवतिको सम्पर्क नम्बर भने थिएन । तर सोधपुछपछि नगरपालिकाको कृषि शाखाले पूर्व वडाध्यक्षकी श्रीमती भएको प्रमाणित गरेको हो । 

pt2

नगरपालिकाले गत वर्षको मंसिर ३ गते एक सूचना जारी गर्दै हाते ट्याक्टर मिनी पावर टिलर लगायतका कृषि सामग्री अनुदानमा वितरणका लागि आवेदन माग गरेको भएपनि ढिलो गरी मात्र वितरण गरेको थियो । नगरपालिकाको कृषि शाखाले पावर टिलर वितरण गर्ने निर्णय गरिरहँदा वडा नम्बर ६ मा राजधामी वडाध्यक्षको रुपमै कार्यरत थिए । यसैगरी, नगरपालिकाले अनुदानमा दिएको पावर टिलर आफूलाई काम नलाग्ने भएपछि भाडामा लगाएको रामधुनी नगरपालिका वडा नम्बर ७ नयाँ बस्तीका एक किसान बताउँछन् । आफूसँग २ वटा ठूला ट्याक्टर पनि भएकाले हाते ट्याक्टर भरौलतिर भाडामा दिएको उनले सुनाए । ‘त्यो मलाई कामै छैन । भरौलतिर भाडामा दिएको छु ।’ उनले प्रदेश पोर्टलसँगको फोन सम्पर्कमा भने । कति समयको लागि भाडामा दिएको हो भन्ने प्रश्नमा भने उनले एक डेड वर्ष उतै बस्ने जवाफ दिएका थिए । 

यता रामधुनी २ को समृिद्ध कृषक समुहले भने नगरपालिकाले दिएको पावर टिलर आफूसँग नभएको बतायो । नगरपालिकाले पचास प्रतिशत अनुदानमा पावर टिलर दिएको थियो नि तपाईलाई ? भन्ने प्रदेश पोर्टलको सवालमा भने समृद्धि कृषक समुहले आफूलाई नभई साथीको लागि दिलाइदिएको बताएको छ । नगरपालिकाबाट अनुदान पाउनका लागि विगतमा नेपाल सरकारको संघ प्रदेश तथा स्थानीय कुनै तहबाट पनि विगतमा अनुदान नलिएको हुनुपर्ने व्यवस्था रहेको भएपनि समृद्धि कृषक समुहले भने कृषि ज्ञान केन्द्र इनरुवाले गत वर्ष दिएको मिनी पावर टिलर आफूसँगै रहेको बताएको छ । कृषि ज्ञान केन्दबाट अनुदान पाएको उक्त समुहले पुनः नगरपालिकाको अर्को अनुदान पनि साथीको नाममा लिएको अनुसन्धानले देखाएको छ । 

यता, रामधुनी नगरपालिकाले भने अनुदानमा दिइएको सामान कृषकले आफ्नै प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउने तर अन्यत्र भाडामा लगाएर फाइदा लिन नहुने बताएको छ । नगरपालिकाले दिएको अनुदानको बेलाबेला नगरले अनुगमन गर्ने गरेको र दुरुपयोग भएको खण्डमा भने कारबाही गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापा बताउँछन् । ‘हामीले बेलाबेलामा अनुगमन गर्ने गरेका छौँ । यदी दुरुपयोग गर्ने गरेको पाइयो भने नियमबमोजिम कारबाही गर्छौँ । अनुदानमा दिइएको सामान भनेको नितान्त किसानको आफ्नो प्रयोजनको लागि हो । बेच्न तथा भाडामा लगाउन र अतिरिक्त नाफा लिन पाइँदैन ।’ अधिकृत थापाले प्रदेश पोर्टलसँग भने । 

नगरपालिकाको कृषि शाखाकी कर्मचारी फूलकुमारी राईले भने अनुगमन गरेरै कृषि औजार वितरण गरेको बताइन् । तथापि यस्तो अनुदानको दुरुपयोग गर्न भने नपाइने राईको भनाइ छ । रामधुनी नगरपालिकाले पचास प्रतिशत अनुदानमा झण्डै २ लाख ५० हजार रुपैयाँ बराबरको हाते ट्याक्टर २५ जना किसानलाई वितरण गरेको थियो । नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको हातबाट वितरण भएको भएता पनि यी हाते ट्याक्टरहरु अघिल्लै नगर सरकारको पालामा निर्णय भई आएका हुन् । अनुदान वितरणमा नगर सरकारले विपन्न वर्गका किसानलाई नदिई पहुँचको आधारमा ठूलो क्षेत्रफलमा खेती गर्ने तथा आवश्यकता नै नपरेका किसानलाई अनुदान दिएको भन्दै विरोधका आवाजहरु उठेका छन् ।