विराटनगरः विराटनगर–४ खारजीमा बन्न लागेको तारणीप्रसाद कोइराला सञ्चार ग्रामलाई कला, संस्कृति, सङ्गीत, साहित्य र सञ्चारको अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने भएको छ ।

सो सञ्चार ग्रामका विषयमा रेडियो नेपालद्वारा आयोजित छलफल कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सो सञ्चारग्राममा प्रदेश नं १ को प्रशारण एकाइ पनि रहने बताए ।

सञ्चारकर्मीको तालीम, ध्वनि रेकर्डिङ जस्ता अन्य काम पनि सञ्चालन हुने यस ग्रामबाट विराटनगर महानगरपालिकाले नगर एफएम सञ्चालन गर्ने भएको छ । सञ्चार ग्रामका लागि विराटनगर महानगरपालिकाले ६ कठ्ठा १८ धुर जग्गा उपलब्ध गराएको जग्गामा ४ तले स्टिलका अत्याधुनिक भवन निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ ।

१८ करोड २५ लाख ५२ हजारको लागतमा निर्माण हुन लागेको सो भवन चैतभित्रमा बनिसक्ने बताइएको छ । भवनका लागि नेपाल सरकारले अहिलेसम्म १७ करोड रुपैयाँ छुट्याएको बताइएको छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहाल र विराटनगर महानगरपालिका–४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले पनि आफ्ना भनाइ राखेका थिए । रेडियो नेपालका नायब कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बहुआयामिक यो भवनबाट सञ्चारकर्मी, प्रदेश सरकार, स्थानीयवासी र हरेक क्षेत्रका कलाकर्मीलाई लाभ पुग्ने बताए ।