इटहरीः सुनसरीको इटहरी–५ मा आज ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत पश्चिमबाट पूर्व आउँदै गरेको को १ त ५६८५ नम्बरको ट्याक्टरले सोही दिशाबाट आइरहेको को २८ प ६०७१ नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । दिउँसो पौने १२ बजे भएको सो दुर्घटनामा परी इटहरी–५ बस्ने ४० वर्षीय शालिग्राम निरौला र मोटरसाइकलको पछाडि सवार सुनसरीको वराह–९ बस्ने ५० वर्षीय हेमराज कोइरालालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते दुवै जनालाई उपचारको लागि इटहरी स्थित एपेक्स अस्पताल पठाइएकोमा उपचारको क्रममा गम्भीर घाइते निरौलाको दिउँसो सवा १ बजे सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टरका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । घाइते कोइरालाको सोही अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।