काठमाडौंः पछिल्लो दुई महिनायता डेंगी संक्रमण उच्च भएसँगै स्कुले बालबालिका थप जोखिममा परेका छन् । अस्पतालहरूमा समान्यदेखि कडा लक्षण भएका बालबालिका उपचारका लागि आउने क्रम बढेको छ । विद्यालय क्षेत्रमा नै पर्याप्त सावधानी नअपनाइँदा स्कुले बालबालिका संक्रमित हुने क्रम बढेको विज्ञहरूको भनाइ छ ।
डेंगीबाट यो वर्ष तीन बालबालिकाको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म देशभर डेंगी संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । जसमध्ये २० जनाको मृत्यु भएको छ । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार यो वर्ष डेंगीबाट मृत्यु हुनेहरूमा तीनजना १५ वर्षमुनिका बालबालिका छन् । संक्रमित हुनेमा भने सबैभन्दा धेरै १५ देखि ४९ वर्षका व्यक्ति छन् ।
कान्तिबाल अस्पतालमा भदौ अन्तिम सातासम्म १४ वर्षमुनिका ७९ जना बालबालिकालाई भर्ना गरी उपचार गरिएको अस्पतालको तथ्यांक छ । तीमध्ये चारजनालाई आईसीयूमा भर्ना गरी उपचार गरिएको थियो । भदौको अन्तिमसम्मका बालबालिकामा डेंगी संक्रमण बढेको र ज्वरो लिएर अस्पताल आइपुग्ने अधिकांशमा डेंगी संक्रमण देखिएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामहरि चापागाइँ बताउँछन् ।
विद्यालय क्षेत्रमा सावधानी पुगेन
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगी परीक्षणका लागि आइपुग्नेमध्ये स्कुले उमेरका किशोर किशोरी तथा शिक्षक शिक्षिकाको संख्या बढ्दै गएको अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरवहादुर पुन बताउँछन् । विद्यालयमा डेंगीका बारेमा पोष्टर प्रदर्शनी तथा सचेतनाका कार्यक्रम गरिने भए पनि पर्याप्त सरसफाई र सुरक्षाका उपायहरू नअपनाउँदा डेंगी संक्रमणको जोखिम बढेको डा. पुनको तर्क छ । “परीक्षणका लागि आउने किशोर किशोरीहरू धेरैजसो विद्यालय क्षेत्रबाटै संक्रमित भएको मैले पाएको छु, एउटै विद्यालयका शिक्षक शिक्षिका समूहमा संक्रमित भएको पनि पाइएको छ, यसअर्थमा विद्यालयमा सचेतना सँगसँगै सरसफाइ र सुरक्षाका उपाय पनि अलि बढाउने कि भन्ने मेरो बुझाइ छ”, डा. पुन भन्छन् । केही दिन शैक्षिक संस्था बन्द गरेरै भए पनि सरसफाइमा जोड दिन डा. पुनको सुझाव छ ।
बालबालिकामा डेंगी कति जटिल ?
यो वर्ष डेंगी संक्रमित हुनेमा ७५ दिनका शिशुसमेत रहेको कान्ती बाल अस्पतालको रेकर्ड छ । “यो वर्ष भर्ना भएका डेंगी संक्रमित बालबालिकामध्ये चारजनालाई आईसीयूमा राखेर उपचार गर्यौं अन्यमा त्यस्तो जटिलता देखिएन,” डा. चापागाइँले भने । तर डेंगीको ज्वरो नै उच्च हुने र लक्षणहरू देखिने भएकाले अभिभावक धेरै आत्तिने गरेको उनको अनुभव छ । १०३÷१०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउनु, वान्ता हुनु, झाडापखाला हुनु, छालामा रातो डाबर देखा पर्नु, संक्रमणको केही दिनपछि शरीरका ग्रन्थीहरु सुन्निनुजस्ता लक्षणहरू देखिएका चिकित्सकको सल्लाह लिन तथा अस्पताल पुर्याउन डा. चापागाइँको सुझाव छ । यीबाहेक सामान्य अवस्थामा डेंगी संक्रमण देखिए पनि नआत्तिन, झोल खानेकुराहरूमा जोड दिन, आराम गराउन तथा घरको साथसाथै बालबालिका रहने सबै स्थानको सरसफाइमा ध्यान दिन उनको सुझाव छ । बाह्रखरीबाट