इटहरीः बैंकहरुमा लगानीयोग्य पूँजीको अभाव भइरहेको बेला बचत तान्न व्याज बढाइइको छ भने कर्जाको व्याज १८ प्रतिशतको हाराहारी पुर्याइएको छ ।
तरलता अभावकाबीच बचतको व्याज बढेसँग कर्जाको ब्याजदर उच्च विन्दुमा पुगेको हो । अहिले सामान्यतया वाणिज्य बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर नै १८ प्रतिशत हाराहारी पुगेपछि विकास बैंक, लघुवित्त र सहकारी सँस्थामा समेत व्याज नियन्त्रित नहुने बताइन्छ । असोज महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपमा नै अधितम १२.१३ प्रतिशत ब्याजदर प्रदान गरिसकेका छन् । सामान्य बचतमा नै ६ देखि ८ प्रतिशत ब्याजदर प्रदान गरेका बैंकहरुले मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर प्रदान गरेका हुन् ।
अघिल्लो महिना यस्तो ब्याजदर मुद्दति निक्षेपमा बैंकहरुले ११.०३ प्रतिशतसम्म दिएका थिए । तर, असोज महिनाका लागि एकाएक बैंकहरुले ब्याजदर वृद्धि गरिदिएपछि मारमा व्यवसायीहरु परेका छन् । यसअघिको भद्र सहमति तोड्दै नेपाल बैंकर्स संघले असोज महिनाका लागि ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै छोडिदिएपछि व्याजदर बढेको हो । राष्ट्र्र बैंकको नीति एक पटकमा कायम ब्याजदरको बढीमा १० प्रतिशतले मात्र थप÷घट गर्न पाउने प्रावधानका कारण बैंकहरुले असोज महिनाका लागि १० प्रतिशतले मात्र ब्याजदर बढाएका छन् । बढेको ब्याजदर अनुसार मुद्दति निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुगेको छ । बचत तान्न सहकारीहरुले त झनै आकर्षक व्याजको लोभ देखाइरहेका छन् ।
यता विदेशमा रहेका नेपालीहरुले खोल्ने रेमिट्यान्स बचत खातामा बैंकहरुले १ प्रतिशत सम्मले बढी ब्याजदर दिन पाउँछन् । यसो हुँदा निक्षेपको ब्याजदर १३.१३ प्रतिशतसम्म पुग्छ । बचतमा नै १३.१३ प्रतिशतसम्मको ब्याजदर दिनुपर्ने भएपछि कर्जाको व्याज बढाउनु परेको बैँकहरुले बताएका छन् । कर्जाको व्याज बढेसँग विराटनगरका व्यवसायीले चर्को व्याज धान्न नसकिने भन्दै सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।