फाइल तस्बिर

भोजपुरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाइने बताएका छन् । त्यस क्रममा प्रदेश नं १ का १ सय विद्यालयमा सूचना प्रविधिसम्बन्धी शिक्षाको शुरु गर्ने उनले बताए । ३ वर्षभित्रमा प्रदेशका सबै विद्यालयमा सो प्रविधिको विस्तार गरिने उनको भनाइ थियो ।

गृह जिल्ला भोजपुरको हतुवागढीमा आयोजित एक विद्यालयको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर भएर लागिपरेको बताएका हुन् ।

हतुवागढी गाउँपालिकाको वडा नम्बर ९ हसनपुरमा रहेको जनसेवा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् ।

जिल्लाको स्वास्थ्य, शिक्षा, यातयातसँगै आर्थिक विकास गर्न सोहीअनुसारको योजना बनाएर प्रदेश सरकारले काम गर्ने उनको भनाइ थियो ।

दूधकोशी नदीको चुवारमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती भएकाले प्राथमिकताका साथ काम अगाडि बढाएर निर्माण पूरा गरिने पनि उनले सो कार्यक्रममा बताए ।