इटहरीः  प्रदेश नम्बर १ सरकारको खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेश स्तरीय जुडो प्रतियोगितामा भाग लिन सोही प्रदेशको सोलुखुम्बुबाट ४ दिन खर्चेर धरान आइपुगे पेम्वादोर्जे शेर्पा । 

समुन्द्र सतहबाट ३ हजार ७ सय मिटर उचाईमा रहेको सोलुको खुम्जुङ्ग क्षेत्रमा बसोबास गर्ने पेम्वादोर्जे जुडोलाई माया गर्ने र खेलमै जिवन खोज्नेहरुमा पर्छन्, त्यसैले पनि उनलाई न त हावा पानीले रोक्यो न त खराव मौसम र अन्य अप्ठ्याराहरुलेनै छेक्न सक्यो । 

सोलुको खुम्जुङ्गमै तालिम र तयारी कक्षाहरु गरेका पेम्वालाई लुक्ला विमानस्थल आइपुग्नै घरबाट हिडेर २ दिन लाग्यो । हवाईजहाजको उडान कुरेका पेम्वालाई लिन मौसमको कारण देखाउँदै जहाजका उडानहरु भएनन्  तर उनको मनभित्रको खेल चाहलाई मार्न नसक्ने पेम्वादोर्जे अन्तत हेलिकोप्टर चार्टर गरेर काठमाण्डौ पुगे । लुक्ला बिमानस्थलबाट धरान तथा विराटनगर आउनु भन्दा निकै सस्तो भाडा काठमाण्डौको हुने भएपछि आफु काठमाण्डौसम्म हेलिकोप्टरमा गएको पेम्बाले सुनाए । उनका सहकर्मी साथीहरु पनि काठमाण्डौमै पाम भन्ने संस्थाले सञ्चालन गरेको तालिम केन्द्रमा जुडो प्रशिक्षण लिइरहेका थिए । पाम जेलमा परेका व्यक्तिहरुका असहाय व्यक्तिहरुलाई सहयोग गर्ने संस्था हो । जसले नेपालमा थुप्रै जुडोका खेलाडीहरु उत्पादन गरिरहेको नेपाल जुडो संघका केन्द्रिय अध्यक्ष दिपकहर्ष बज्राचार्य बताउँछन् ।

IMG-20220914-WA0138 (1) 

काठमाण्डौ पुगेका पेम्वादोर्जे शेपा त्यहाँ साथीसँग भेला भएर बसमा काठमाण्डौबाट  धरान पुगे । सोमबारबाट धरानको रंगशाला स्थित मिनी कभर्डहलमा सञ्ंचालन भइरहेको प्रदेश एक स्तरीय जुडो प्रतियोगितामा भाग लिएका पेम्वाले आफ्नो जिल्लाको इज्जत जोगाउँदै  ३ स्वर्ण पदक सहित ६ वटा मेडल जित्न सफल भएका छन् । 

यही असोज महिनाको २८ गतेदेखि कार्तिक महिनाको ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकले छनौट प्रतियोगिता सञ्चालन गरेको हो । छनौट खेलमा सोलुखुम्बु जिल्लाबाट ६ जना खेलाडी सहभागी भएको जुडोका शुभचिन्तक सोलुका पर्यटनकर्मी तथा समाजसेवी पासाङ्ग तेम्बा शेर्पाले बताए । तेम्वा टुर गाइडहरुका लिडर पनि हुन् ।

306300891_588342819650864_4079716286596535875_n

सरकारको खेलप्रतिको दृष्टिकोण लाखौँ रुपैँया खर्च गरेर खेलकै लागि आउने खेलाडीले पाउने भनेको न्युन दैनिक भत्ता र सामान्य सार्वजनिक यातायात भाडामात्रै हो । सोलुबाट सुनसरी आउने खेलाडीलाई यातायात खर्च बापत सरकारले तोकेको सार्वजनिक यातायात सुविधा अन्र्तगत एकतर्फी १ हजार ८ सय मात्रै भएको बोर्डका सदस्य शैलेश कुमार विष्टले बताउँछन्  । खेलाडीलाई दुई तर्फ सार्वजनिक यातायात भाडा दिइने गरिएको छ । त्यसबाहेक खेलाडीलाई खेल भएको स्थानमा बस्न र खानको लागि कर कटाएर सरकारले दैनिक १ हजार ४ सय रुपैँया दिने गरेको छ । त्यो पनि खेल सञ्चालन हुने दिनको मात्रै भत्ता खेलाडीले पाउछन् भने अन्य दिन आफ्नै खर्चमा बस्नु र खानुपर्ने हुन्छ । आफुहरु ३ दिन अघि देखि धरान आएर बस्दै गरेको सोलुबाट आएका जुडा खेलाडीहरु बताउँछन् । 

अर्कोतिर खेलाडीहरुसँग जिल्ला खेलकुद विकास समितिको सहजिकरण नहुँदा अन्य जिल्लाका खेलाडीहरु आफ्नो जिल्लाको लागो र नाम सहितको ट्याक सुटमा सजिँदा समेत सोलुका खेलाडीहरुलाई त्यो उपलव्ध नभएको पाइएको छ ।‘ हामीसँग अहिले सम्म पनि जिल्ला खेलकुद विकास समितिले कोर्डिनेसन गरेको छैन ।’ खेलाडीहरुले सुनाए ।  

सोलुमा ३ हजार ७ सय मिटरको हाइ अल्टिच्युडमा तालिम सन्चालन गरेर जुडोको तालिम लिएका खेलाडीहरु अनुशासन र स्वाभिमानका प्रतिक रहेको सोलुखुम्बुमा सञ्चालन भइरहेको एभरेष्ट जुडोका कोषाध्यक्ष समेत रहेका पासाङ्ग तेम्बा शेर्पाले बताए । 

सोलुबाट आएर मेडल जित्ने खेलाडीहरुमा पासाङ्ग दोर्जी शेर्पा र दोर्जे शेर्पाले ६० केजी तौल समुहबाट कास्य पदक जितेका छन् भने सोनाम छिरिङ्ग शेर्पाले ७३ केजी तौल समुहबाट रजत पदक जिते । यता महिला ५२ केजी तौल समुहबाट प्रितिमाया तामाङ्गले स्वर्ण ५७ केजी तौल समुहबाट पेया यान्जि शेर्पाले स्वर्ण र ६३ केजी तौल समुहबाट बन्दना राईले स्वर्ण पदक जितेका छन् । आफ्नो समुहले राम्रो प्रदर्शन गरेकोमा एभरेष्ट जुडोका पासाङ्ग तेम्बाले खुसी प्रकट गरेका छन् । 

खेलमा राजनितिक छिरेको तथा खुट्टा तान्ने प्रवृतिले गर्दा देशको इज्जत जोगाउन समेत गाह्रो भएको पासाङ्ग सुनाउँछन् । पहाडी जिल्ला सोलुलाई पनि खेलसँग जोड्नको लागि त्यो क्षेत्रमा कभर्डहलको निर्माण हुनका साथै माथिल्लो भेगमा कोचको अभाव पुर्ती गरिनुपर्ने शेर्पाले बताए । केही समयअघि सगरमाथाको आधारशिविर अर्थात ३ हजार ७ सय मिटरको उचाईमा जुडो सम्बन्धि कार्यक्रम चलाएर देश विदेशमा राम्रो सन्देश छरिएको थियो । 

मार्सल आर्टका विद्याहरु मध्ये धेरै प्राविधीमैत्री खेल जुडो जापानबाट उत्पादित खेल हो । जुडो सामान्यतया सोखका लागि खेलिने खेल भएको नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य आफैँ स्वीकार गर्छन । अन्तराष्ट्रियस्तरको १ प्रपत म्याटलाई मात्रै २० हजार भन्दा बढि पर्ने बज्राचार्यले सुनाए । जुडो खेललाई सुनसरीमा स्थापित गर्न राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव केशव कुमार बिष्टको योगदान रहेको बज्राचार्य सुनाउँछन् । केही महंगो र प्रविधिमा खेलिनुपर्ने भएकाले पनि जुडो प्रदेश एकका सवै जिल्लामा नपुगेको जुडोका लागि धरानकी अभियान्ता तथा प्रदेश खेलकुद विकास बोर्डकी बोर्ड सदस्य रोशनी राईले सुनाइन् ।