ताप्लेजुङः पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ प्रथम मानाभरा महोत्सव ताप्लेजुङम आइतबार शुरु भएको छ ।

पुस ७ गतेसम्म सञ्चालन हुने महोत्सवको आइतबार प्रदेश नं १ का प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङले उद्घाटन गरे । महोत्सवमा पुरुष, तथा महिलाबीच फुटबल र भलिबललगायतका प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।

आज पूजापाठ र पोखरी अवलोकन
ताप्लेजुङको सबैभन्दा ठूलो फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर २ खेजेनिमको आहालेटारमा महोत्सव शुरु भएको हो । महोत्सवको दोस्रो दिन आज किराती राजा अन्छङ्बो, सबेन्हिम, साम्रा र इङ्वासामहरूले राज्य गर्दा बस्ने थलो मानिदै आएको यक्चेयक डाँडामा पूजापाठ गर्ने कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै, नजिकै रहेको वाग्मा पोखरीको अवलोकन गर्ने कार्यक्रम पनि रहेको आयोजकको भनाइ छ । महोत्सवमा विभिन्न जातजाति तथा समुदायको संस्कृति झल्काउने झाँकीलगायतका प्रदर्शनीसमेत प्रस्तुत भइरहेका छन् ।

जिल्लाका धार्मिक पर्यटकीय क्षेत्र
सुदूर पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा धेरै धार्मिक पर्यटकीय स्थल रहेका छन् । मानाभरा, वाग्मा पोखरी, विश्व किरात लिम्बूहरूको शिर उठाउने स्थल खाम्बुलिङहाङ्साम नाहाङ्मायक मन्दिर, जिन्दाक छ्योसाङ गुम्बा जिल्लाका धार्मिक पर्यटकीय क्षेत्र हुन् । यी क्षेत्रको प्रचार–प्रसारको अभावमा ओझेलमा परेका छन् । ओझेलमा परेका यिनै क्षेत्रको प्रचार–प्रसार र भौतिक पूर्वाधारको विकासमा सबैको ध्यानाकर्षण गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइएको छ ।