इटहरीः प्रदेश नम्बर १ सहित देशका विभिन्न भागमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, मधेस, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम र प्रदेश–१ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको विभागले प्रकाशन गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत सबैमा विभागले आग्रह गरेको छ ।