काठमाडौंः २७ चैत ०६४ सालमा रौतहटको राजपुरमा भएको भनिएको बम विस्फोट प्रकरणमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अफताब आलमलाई फँसाउन प्रहरीले चरम षडयन्त्र गरेको विषयलाई नजरअन्दाज गरिएको खुलेको छ।

०७६ मा आलमलाई पक्राउ गरेका तत्कालिन रौतहट जिल्लाका प्रहरी उपरिक्षक (एसपी) भूपेन्द्र खत्रीले सत्ताको आडमा सरकारी साक्षी बनाउनका लागि हदैसम्मको यातनाको खेल खेलेको खुलेको थियो। 

घटनामा मृत्यु भएको भनिएका ओसी अख्तरका ससुरा समसुल मियाँले जिल्ला अदालतमा दिएको बयानले आलमलाई राजनीतिक रुपमा फँसाउने षडयन्त्र गरेको र यसमा प्रहरी प्रशासनको प्रयोग गरिएको स्पष्ट त पारेकै थियो यसबाहेक जबरजस्ती बयान दिनका लागि एसपी खत्रीले तत्कालिन सत्तारुढ दलका नेता र प्रहरी प्रमुखको निर्देशनमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको पनि खुलासा भएको छ। 

सार्वजनिक रुपमा नै समसुल मियाँले एसपी खत्रीले आँखामा खुर्सानी दलेर जबरजस्ती कागजमा सही गराएको उनले बताइसकेका छन्। ‘मेरो आँखामा खुर्सानी दलेर जबरजस्ती मलाई कागजमा एसपीले सही गराए’, समसुलले भनेका छन्,‘निर्दोष अफताब आलमलाई फँसाउनका लागि सत्ताका आडमा त्यो हदसम्मको काम भयो।’

यतिमात्र होइन सर्लाहीको लालबन्दीमा तरकारी पसल चलाउने समसुल मियाँले अदालतमा त मृत्यु भएको भनिएका आफ्ना छोरी ज्वाँई ओसी अख्तर र पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई घटना भएको भनिएको २७ चैत ०६४ को तीन चार दिनपछि भेटेको समेत अदालती बयान दिएका थिए।

२७ चैतका दिन भने ज्वााई ओसी अख्तर आफ्नो घरमा बसेको पनि उनले अदालतमा दिएको बयानमा उल्लेख छ।  यतिमा मात्र नभएर तत्कालिन सत्तासिन नेकपाका स्थानीय नेता शैलेन्द्र साहले काठमाडौंमा लगी तीन देखि चार दिनसम्म राखेर विभिन्न सञ्चार माध्यममा लगी झूठा बयान दिनका लागि दबाब दिएको उनले उल्लेख गरेका छन्। 

प्रहरीको उक्त दबाब र यातनाका विषयमा आफूले त्रासका कारण उजुरी नदिएको समसुलले बताएका थिए। अदालतमा समेत उनले उक्त प्रकारको बयान दिँदा पनि सत्ताको बलमा अफताबविरुद्ध पूर्पक्षका लागि थुनामा राख्ने आदेश अदालतले दिएको थियो। 

हत्या गरिएको भनिएका ओसी अख्तर र त्रिलोकप्रताप सिंह ९पिन्टु०को लास त भेटिएन नै, त्यसबाहेक अन्य दुई दर्जन व्यक्तिको हत्या गरिएको भन्ने प्रहरीको आरोपलाई पुष्टि गर्ने कुनै पनि प्रमाण हालसम्म फेला परेको छैन। 

प्रहरीले अदालतमा पेस गरेको दाबी पुष्टि नभए पनि अफताबलाई राजनीतिक प्रतिशोध लिनका लागि जबरजस्ती पूर्पक्षका लागि थुनामा राखिएको छ। ‘राजनीतिमा हालसम्म पनि सफलता प्राप्त गरेका कारणले उनलाई जसरी पनि फँसाउने षडयन्त्रको खेलमा प्रहरीको भूमिका रह्यो’, स्रोतले भन्यो।

त्यसो त एसपी खत्रीले अफताब आलमलाई अपहरण शैलीमा नियन्त्रणमा लिएका थिए। स्थानीय जनतामाझ लोकप्रिय रहेका आलमलाई नियन्त्रणमा लिनका लागि तत्कालिन प्रहरी प्रमुख सर्वेन्द्र खनालको सचिवालयबाट पनि नाटकीय ढंगमा प्रहरी परिचालन गरिएको थियो। 

‘पक्राउ गर्नका लागि जुन प्रकारको नाटक रचियो त्यो पूरा देखाइएन, गाडीमा हालेपछि भिडिओ बनाएर प्रहरीले गलत प्रचार गरायो। तर, उहाँलाई चारैतिरबाट घेरा हालेर अपराधीजस्तो पक्राउ गरियो’, प्रत्यक्षदर्शी भन्छन्,‘यसप्रकारको विभेदका हिसाबले गरिएको व्यवाहारत अहिलेसम्म पनि देखिएको थिएन।’